आईसीसीसँगको कुराकानीपछि पाकिस्तानले आफ्ना सर्त अगाडि सारेको हो ।
मुम्बई — पाकिस्तानले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा भारतविरुद्धको खेल बहिस्कार गर्ने निर्णय फिर्ता लिन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सामु सोमबार तीन सर्त राखेको छ ।
आईसीसी प्रतिनिधिले यूएईको दुबईमा पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहनसि नक्भीसँग भेट गरेका थिए । त्यस अवसरमा बंगलादेशी क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लाको पनि उपस्थिति रहेको थियो ।
आईसीसीले बंगलादेशलाई प्रतियोगिताबाट हटाएपछि पाकिस्तानले भारतविरुद्ध कोलम्बोमा फेब्रवरी १५ मा हुने खेल नखेल्ने घोषणा गरेको हो । अहिले आईसीसीसँगको कुराकानीपछि पाकिस्तानले आफ्ना सर्त अगाडि सारेको हो ।
पाकिस्तानले आईसीसीबाट पाउँदै आएको अनुदान बढाउनु पर्ने, भारत र पाकिस्तानबीचका दुई पक्षीय सिरिज फेरि सुरु गर्नुपर्ने र दुई देशबीचको खेलपछि खेलाडीले एक आपसमा हात मिलाउनु पर्नेसर्त अघि सारेको छ ।
भारत र पाकिस्तानबीचको विश्वकप खेल नहुने हो भने त्यसबाट आईसीसीलाई कम्तीमा पनि ५० करोड डलर घाटा हुने बताइएको छ । श्रीलंकाली क्रिकेट बोर्डले पनि भारतविरुद्ध नखेल्ने पाकिस्तानी निर्णयमा पुर्नविचार गर्न अनुरोध गरेको थियो ।
