योसँगै मैवाखोला लगातार दोस्रो वर्ष उपाधि विजेता बनेको हो।
What you should know
ताप्लेजुङ — १६औँ राष्ट्रपति रनिङ शिल्ड अन्तर्पालिका स्तरीय प्रतियोगिताको उपाधि मैवाखोला गाउँपालिकाले जितेको छ। योसँगै मैवाखोला लगातार दोस्रो वर्ष उपाधि विजेता बनेको हो।
सिन्दिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखु भन्ज्याङमा सम्पन्न प्रतियोगितामा मैवाखोलाले २३ स्वर्ण, २० रजत र १२ कास्य गरी कुल ५५ पदक जित्दै पहिलो स्थान हासिल गर्यो।
आठराईत्रिवेणी गाउँपालिका १३ स्वर्ण, १३ रजत र २१ कास्यसहित कुल ४७ पदक प्राप्त गर्दै दोस्रो स्थानमा रह्यो। ११ स्वर्ण, ८ रजत र २३ कास्य गरी ४२ पदक जितेको फुङ्लिङ नगरपालिका तेस्रो बन्यो।
आफ्नै पालिकामा आयोजित प्रतियोगितामा सिन्दिङ्वा गाउँपालिका चौथो भयो। उसले ९ स्वर्ण, १२ रजत र १६ कास्य गरी कुल ३७ पदक जित्यो। मेरिङ्देन गाउँपालिका ४ स्वर्ण, ५ रजत र ६ कास्यसहित १५ पदकका साथ पाँचौँ स्थानमा रह्यो।
मिक्वाखोला गाउँपालिकाले ३ स्वर्ण, ५ रजत र १७ कास्य गरी २५ पदक जोड्दै छैटौँ स्थान हासिल गर्यो। सिरिजङ्गा गाउँपालिका २ स्वर्ण, १ रजत र ५ कास्यसहित ९ पदकका साथ सातौँ बन्यो। पाथीभरा याङवरक गाउँपालिकाले १ स्वर्ण, २ रजत र २ कास्य गरी ५ पदक जित्दै आठौँ स्थान प्राप्त गर्यो।
नौ स्थानीय तहको सहभागिता रहेको प्रतियोगितामा फक्ताङलुङ गाउँपालिका भने पदकविहीन हुँदै अन्तिम स्थानमा परेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश मावोले जानकारी दिए।
माघ २३ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका सबै पालिकाका माध्यमिक विद्यालयस्तरीय खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा कुल २३४ पदकका लागि प्रतिस्पर्धा गराइएको थियो।
