नेपालले उत्कृष्ट सुरुआत गरेको थियो । ‘डेब्यु’ गरिरहेका शेरले आफ्नो पहिलो बलमै फिल साल्टलाई १ रनमा आउट गरे । खेलको दोस्रो ओभरमा उनले साल्टलाई शर्ट फाइन लेगमा सन्दीपबाट क्याच गराए ।
What you should know
मुम्बई — लोकेश बमको साहसी इनिङ्सका बावजुत नेपाल ट्वान्टी–२० विश्वकप क्रिकेटमा आइतबार इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । लोकेशले २० बलमा ३९ रन बनाए पनि १ सय ८५ रनको लक्ष्य पाएको नेपालले ६ विकेट गुमाई १ सय ८० रनमात्र बनाउन सक्यो ।
मुम्बईको वानखेडे रंगशालामा उपस्थित १७ हजारमध्ये अधिकांश नेपाली समर्थक थिए । त्यहीं नेपालले अन्तिम बलसम्म इंग्ल्यान्डसामु कडा प्रतिरोध गरेको थियो । लोकेशले ४ चौका र २ छक्का प्रहार गरे पनि अन्तिम २ बलमा बाउन्ड्री प्रहार गर्न नसक्दा नेपाल विश्वकपमा टेस्ट राष्ट्रसामु विजयको मुखमा पुगेर रोकियो ।
लोकेशले १८ औं ओभरमा जोफ्रा आर्चरलाई लगातार २ छक्का प्रहार गरी नेपाललाई विजय नजिक पुर्याएका थिए । १९ औं ओभरमा उनले लुक उडलाई दुई चौका प्रहार गरेपछि नेपालले १४ रन जोडेको थियो । अन्तिम ओभरमा विजयनिम्ति १० रन चाहिँदा नेपालले ५ रनमात्र बनाउन सक्यो । साम करनले उत्कृष्ट बलिङ गरेर इंग्ल्यान्डलाई जिताए ।
टेस्ट राष्ट्रसँग फेरि पनि विजय नजिक पुगेर चुक्नुपर्दा निराश रहेको लोकेशले सुनाए । ‘यो राम्रो खेल थियो, हामीले सक्दो प्रयास गरेका हौं । हामीले इंग्ल्यान्डलाई लगभग पराजित गरिसकेका थियौं । तर अन्तिममा अनुभव महत्त्वपूर्ण हुन्छ,’ लोकेशले भने, ‘यो मेरो पहिलो विश्वकप हो, सपना पनि । त्यसैले खेल्न पाउँदा निकै उत्साहित थिएँ । अनुभवको कमीले होला, अन्तिम मैले योजनाअनुसार खेल्न सकिनँ । एउटा बल मिस भए पनि अर्को बल हिट हुन्छ भनेर मैले र करण (केसी) दाइले सल्लाह गर्दै खेलेका थियौं ।’
अन्तिम दुई बलमा ६ रन चाहिने समीकरण बनेको थियो । लोकेशले पाँचौं बलमा प्रहार गर्दा १ रनका लागि गएको थियो, तर करणले लोकेशलाई फर्काएपछि नेपाललाई अन्तिम बलमा छक्का प्रहार गर्नुपर्ने स्थिति बन्यो । करण भर्खर क्रिजमा आएको र आफू सेट भएको हुनाले यस्तो निर्णय गरेको लोकेशले बताए ।
प्लेयर अफ द म्याच बनेका इंग्ल्यान्डका विल ज्याक पनि नेपालले तर्सिने स्थितिमा पुर्याइदिएको सुनाउँछन् । ‘सबैभन्दा महत्वपूर्ण कुरा जित्नु थियो, जुन हामीले पाएका छौं । खेल निकै प्रतिस्पर्धात्मक भयो, यसको श्रेय पक्कै नेपाललाई दिनुपर्छ,’ ज्याकले भनेका थिए । ‘नेपाल बलिङ र फिल्डिङमा असाधारण रह्यो । विश्वकपमा कुनै पनि खेल चुनौतीपूर्ण हुन्छ । यो खेल धेरै प्रतिस्पर्धात्मक भयो, नतिजा जता नि जाने स्थिति थियो ।’
बाउन्ड्री लाइनमा फिल्डिङ गरिरहेको समयमा अन्तिम ओभर अगाडि आफू निकै नर्भस भएको ज्याकले जनाए । तर साम करन बलिङमा भएकाले इंग्ल्यान्ड टोलीलाई उत्तिकै भरोसा रहेको उनको भनाइ थियो । दबाबको स्थितिमा करनले सधैं उत्कृष्ट बलिङ गर्दै आएको उनको दाबी छ ।
यसअघि कुशल भुर्तेल र आसिफ शेखले ४ ओभरभित्र ३७ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । एक चौका प्रहार गरेका आसिफ ९ बलमा ७ रन बनाई आउट भए । दोस्रो ओभरदेखि निकै आक्रामक खेलेका कुशलले १७ बलमा २९ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे । कप्तान रोहित पौडल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि ५४ बलमा ८२ रनको साझेदारी गरी नेपालको सम्भावना देखाएका थिए । दीपेन्द्र २९ बलमा ४४ रन बनाई आउट भए । सोक्रममा उनले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गरेका थिए । उनी नेपालबाट ट्वान्टी–२० मा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
उनले ६ चौका र १ छक्का प्रहार गरे । कप्तान रोहितले ३४ बलमा समान २ चौका र छक्कासहित ३९ रन बनाए । आरिफ शेख ८ बलमा १ छक्कासहित १० रन बनाई जोफ्रा आर्चरको बलमा आउट भए । गुलशन झा पनि १ रनमै लुक उडबाट बोल्ड भए ।
पहिलो परिवर्तनका रूपमा आएका लिएम डावसनले कसिलो बलिङ गरे । उनले ४ ओभरमा २१ रन खर्चेर आसिफ र रोहितको विकेट लिए । इंग्ल्यान्डका प्रमुख बलर आर्चरले ४ ओभरमा ४२ रन खर्चेर १ विकेट लिए भने आदिल रशिदले ३ ओभरमा ४२ रन खर्चेर कुनै विकेट लिन सकेनन् ।
यसअघि ज्याकोब बेथेल र कप्तान ह्यारी ब्रुकको अर्धशतकमा टस जितेको इंग्ल्यान्डले ७ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो । बेथेलले कुशल भुर्तेलको बलमा लगातार दुई छक्का प्रहार गर्दै २८ बलमा अर्धशतक पूरा गरे । उनले ३५ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ५५ रन बनाए । उनी ट्वान्टी–२० विश्वकपमा अर्धशतक बनाउने इंग्ल्यान्डका सबैभन्दा कान्छा खेलाडी पनि हुन् ।
उनले यो सफलता २२ वर्ष ३ महिना १६ दिनका दिन पाए । यसअघि क्रेग किसवेटरले २२ वर्ष ५ महिना १८ दिनका अर्धशतक बनाएका थिए । ब्रुकले १९ ओभरको पहिलो बलमा नन्दन यादवलाई छक्का प्रहार गर्दै ३२ बलमा अर्धशतक पूरा गरेका थिए । अर्को बलमै नन्दनले ब्रुकलाई शेर मल्लबाट क्याच गराए । ब्रुकले ४ चौका र ३ छक्कासहित ५३ रन बनाए ।
इंग्ल्यान्डले पावर प्लेमा २ विकेट गुमाई ५७ र १२ ओभरभित्र ३ विकेट गुमाई १ सय ६ रन बनाएको थियो । तर नेपालले त्यसपछि राम्रो पुनरागमन गरेको हो । विशेष गरी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २५ रनमात्र खर्चेर १ विकेट लिए । इंग्ल्यान्डले अन्तिम ५ ओभरमा ५० रन जोडेको थियो ।
नेपालले उत्कृष्ट सुरुआत गरेको थियो । ‘डेब्यु’ गरिरहेका शेरले आफ्नो पहिलो बलमै फिल साल्टलाई १ रनमा आउट गरे । खेलको दोस्रो ओभरमा उनले साल्टलाई शर्ट फाइन लेगमा सन्दीपबाट क्याच गराए । जोस बटलरलाई नन्दनले विकेटकिपर आसिफबाट क्याच गराए । बटलरले १७ बल खेल्दै ५ चौकासहित २६ रन बनाए । आफ्नो इनिङ्सका क्रममा बटलर ट्वान्टी–२० विश्वकपमा एक हजार रन पूरा गरे ।
सन्दीपले टम बेन्टनलाई २ रनमा एलबीडब्लू आउट गरे । साम करनलाई दीपेन्द्रले २ रनमा बोल्ड गरे । जोफ्रा आर्चर १ रनमा रनआउट भए । ज्याक ३९ रनमा अविजित रहे । इनिङ्सको अन्तिम ओभरमा करण केसीलाई ३ छक्का प्रहार गरेका ज्याकले १८ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे । दीपेन्द्र र नन्दनले २–२ विकेट लिए । दीपेन्द्रले ३ ओभरमा २३ र नन्दनले ३ ओभरमा २५ रन खर्चे । 
शेरको स्वर्णिम ‘डेब्यु’
अफ स्पिनर शेर मल्लले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा स्वर्णिम सुरुआत गरेका छन् । इंग्ल्यान्डविरुद्धको खेलमा आफ्नो पहिलो खेलको पहिलो बलमै उनले फिल साल्टको विकेट लिएका हुन् । दुई महिनाअघि सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा सर्वाधिक १७ विकेट लिएपछि शेरले नेपाली टोलीको ढोका खोलेका थिए । साल्टले फ्लिक गर्न खोजेको बल टप एज लागेर क्याच गएको थियो । तर त्यसपछि आएका ज्याकोब बेथेलले उनलाई दुई छक्का र एक चौका प्रहार गरे । पूरा खेलको बलिङ भने शेरको राम्रो हुन सकेन । उनले ३ ओभरमा ३५ रन खर्चिए ।
आफ्नो विश्वकपको ‘डेब्यु’ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो बलमै विकेट लिने उनी नेपालका दोस्रो खेलाडी हुन् । पारस खड्काले २०१४ को विश्वकपमा हङकङविरुद्ध पनि पहिलो बलमै विकेट लिएका थिए । पारसले नै आइतबार वानखेडे स्टेडियममा शेरलाई ‘डेब्यु’ क्याप दिएका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रियको पहिलो बलमै विकेट लिने शेर नेपालका चौथो खेलाडी हुन् । शेर र पारसहित आरिफ शेख र कुशल भुर्तेलले आफ्नो पहिलो बलमै विकेट लिएका छन् ।
दीपेन्द्रको दुई हजार रन
दीपेन्द्रसिंह ऐरी ट्वान्टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन बनाउने नेपालको पहिलो खेलाडी बनेका छन् । इंग्ल्यान्डविरुद्धको खेलमा ४४ रन बनाएसँग उनले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो २ हजार रन पुरा गरेका थिए । उनी नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी हुन् । कुशल भुर्तेल १ हजार ८ सय ३६ रनका साथ दोस्रो स्थानमा छन् । दीपेन्द्रले एक शतक र १० अर्धशतकसहित २ हजार रन पूरा गरेका हुन् । कुशलले १ शतक र नेपालबाट सर्वाधिक १३ अर्धशतक प्रहार गरेका छन् ।
