मिसन-२०२६ बारे प्रधानमन्त्रीसँग छलफल 

जापनमा आयोजना हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने उद्देश्यसहित राखेपले दुई वर्षदेखि १० खेलका ११ टिमलाई विशेष प्रशिक्षण दिँदै आएको छ

माघ २६, २०८२

कान्तिपुर संवाददाता

Discussion with the Prime Minister about Mission 2026

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरेको मिसन–२०२६ लाई निरन्तरता दिन प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन् ।

मिसन–२०२६ का विषयमा प्रधानमन्त्रीलाई जानकारी दिन राखेपका सदस्य–सचिव रामचरित्र मेहताको नेतृत्वमा गएको टोलीलाई प्रधानमन्त्री कार्कीले बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गर्ने बताइन् । 

जापनमा आयोजना हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने उद्देश्यसहित राखेपले दुई वर्षदेखि १० खेलका ११ टिमलाई विशेष प्रशिक्षण दिँदै आएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेटले यही माघ महिनासम्म कार्यक्रम सञ्चालन हुने भएपछि बाँकी रकम व्यवस्थापनका लागि परिषद्ले अनुरोध गरेको हो ।

एसियाली खेलकुदको तयारी लगायतका विषयमा प्रधानमन्त्रीलाई सदस्य–सचिव मेहताले जानकारी गराए ।  भेटका अवसरमा राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दीपक विष्ट र उपनिर्देशक दीपक श्रेष्ठ पनि सहभागी थिए ।

भेटमा प्रधानमन्त्री कार्कीले राम्रो तयारी गरी उद्देश्य पूरा गर्न भन्दै फागुन २१ को निर्वाचनलगत्तै विशेष प्रशिक्षण जारी राख्न निर्देश गरेकी थिइन् ।

कान्तिपुर

Link copied successfully