दशरथ रंगशालामा आइतबार प्रतियोगिताको पहिलो दिन कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश (क) र (ख) टिमले सेमिफाइनलमा स्थान बनाएका छन् ।
काठमाडौँ — बहिरा राष्ट्रिय फुटबल प्रतियोगिता विकास सिल्डको सेमिफाइनल समीकरण पूरा भएको छ ।
दशरथ रंगशालामा आइतबार प्रतियोगिताको पहिलो दिन कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश (क) र (ख) टिमले सेमिफाइनलमा स्थान बनाएका छन् ।
बागमती प्रदेश (ख) ले कर्णाली प्रदेशलाई ३–१ ले हरायो । दोस्रो खेलमा बागमती (क) ले लुम्बिनी प्रदेशलाई पेनाल्टी शुटआउटमा ४–२ को जित हासिल गरेको थियो । यसअघि निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो ।
मधेश प्रदेशविरुद्ध सुदूरपश्चिम ४–० को विजयी भयो । अर्को खेलमा कोशीले गण्डकीमाथि ६–२ को सानदार जित निकाल्यो ।
सुन्दरढोका साथीसेवाले अपांगता खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको विकास सिल्डअन्तर्गत यसपालि राष्ट्रियस्तरमा बहिरा फुटबल प्रतियोगिता गरेको हो ।
सुन्न नसक्ने व्यक्तिले पनि फुटबल खेल्न सक्छ भन्ने सन्देश दिन र समाजमा बहिरा व्यक्तिहरूलाई हेरिने दृष्टिकोण परिवर्तन गर्न आयोजित प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद (राखेप) का निमित्त सदस्यसचिव रामचरित्र मेहताको उद्घाटन गरेका थिए ।
सेमिफाइनल र फाइनल खेल सोमबार हुनेछ । पहिलो सेमिफाइनलमा बागमती (ख) ले सुदूरपश्चिम तथा बागमती (क) ले कोशीसँग खेल्नेछ ।
