परिपक्व बन्दै रोहितको कप्तानी

कप्तान पौडेलसामु ठूलो अवसर ट्वान्टी–२० विश्वकपले लिएर आएको छ, नेपालले कुनै एक टेस्ट राष्ट्रलाई पराजित गरे वा ‘सुपर एट’ मा प्रवेश गरे उनको कप्तानीले नयाँ उचाइ लिने निश्चित छ

माघ २५, २०८२

विनोद पाण्डे

Rohit's captaincy is maturing

What you should know

मुम्बई — मुम्बईस्थित वानखेडे स्टेडियमसँग जोडिएर रहेको संग्रहालयको डिस्प्लेमा भारतीय महिला क्रिकेट टोलीकी पूर्वकप्तान डायना इडुलजी मुम्बईका खेलाडीको भारतीय क्रिकेटमा रहेको प्रभावबारे गर्वसाथ आफ्नो धारणा राखिरहेकी थिइन् ।

मुम्बई क्रिकेटले भारतीय क्रिकेटलाई ११ अन्तर्राष्ट्रिय क्रिकेट कप्तान दिएको छ । त्यसमा एक हुन्, इडुलजी । भारतीय क्रिकेटको कप्तानी गरेका विनु मान्कड, पोली उमरिगर, अजित वाडेकर, सुनिल गावस्कर, दिलीप बेङसरकर, सचिन तेन्दुलकरदेखि रोहित शर्मासम्म मुम्बईका सान हुन् । 

वर्तमान भारतीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय कप्तान सूर्यकुमार यादव पनि पछिल्लो समय मुम्बईबाटै घरेलु क्रिकेट खेल्छन् । उनै सूर्यकुमारसँगै बिहीबार ‘क्याप्टेन्स डे’ कन्फ्रेन्समा नेपालका कप्तान रोहित पौडेल थिए । सूर्यकुमारले पूर्ण आत्मविश्वासका साथ भारत–पाकिस्तानबीचको खेलको अन्योलको प्रश्न सामना गरिरहेका थिए भने भारतीय क्रिकेटलाई लिएर मात्र गरिएको प्रश्नमा मिजासिलो पारामा जवाफ फर्काइरहेका थिए ।

रोहितको आत्मविश्वास पनि कम देखिएको थिएन, सायद ‘भारतीय क्रिकेटको कप्तान हब’ मा उभिँदा उनलाई पनि अतिरिक्त जोस आएको हुनुपर्छ । उनी भन्दै थिए, ‘नेपालले खेलेको सन् २०१४ को पहिलो विश्वकप हेरेर हाम्रो पुस्ता हुर्किएको हो, अब यस विश्वकपले पनि नयाँ पुस्ता निकाल्न प्रेरित गर्नेछ ।’ 

यसको १० वर्षपछि नेपालले ट्वान्टी–२० विश्वकपमा पुनरागमन गर्दा रोहितले नै नेतृत्व गरेका थिए । अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा नेपाल झिनो अन्तरमा दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएको थियो । ‘टेस्ट राष्ट्रसँग हामी केही अवसरमा जित नजिक पुगेर हारेका थियौं, फेरि अर्को खेल्ने मौका आउँदा वेस्ट इन्डिजलाई पराजित गर्न सक्यौं,’ रोहितले यस्तो भनिरहँदा उनीसँगै रहेका वेस्ट इन्डिजका कप्तान साइ होपले मन्दमुस्कान फाले । 

सेप्टेम्बरमा नेपालले वेस्ट इन्डिजसँग तीन खेलको ट्वान्टी–२० शृंखला खेलेको थियो, जुन नेपालको टेस्ट राष्ट्रविरुद्धको पहिलो शृंखला थियो । नेपालले पहिलो दुई खेल जितेर ऐतिहासिक शृंखला आफ्नो नाममा लेखाएको थियो । रोहित नेतृत्वको नेपालले यस ट्वान्टी–२० विश्वकपमा पूर्ण राष्ट्र इंग्ल्यान्ड, वेस्ट इन्डिजसहित इटाली र स्कटल्यान्डसँग समूह चरणमा खेल्ने छ । विश्व क्रिकेटको सबैभन्दा ठूलो स्टेजमा नेपालसामु टेस्ट राष्ट्रमाथि विजय हात पार्ने एउटा अवसर हुनसक्छ । 

व्यक्तिगत हिसाबमा रोहित नेपालका सबैभन्दा सफल ब्याटर हुन् भने नतिजाका हिसाबमा सबैभन्दा सफल कप्तान । रोहित एकदिवसीय अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गर्ने एक्लो खेलाडी हुन् । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पनि रोहितले १६ सयभन्दा बढी रन बनाइसकेका छन् । 

नेपालले खेल्न लागेको यो तेस्रो ट्वान्टी–२० विश्वकप हो, जसमा दोस्रो पटक रोहित कप्तानी गरिरहेका छन् । पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मीलाई २०१४ को विश्वकप खेलिरहेको टेलिभिजनमा देखेपछि रोहित नवलपरासीको बर्दघाटबाट क्रिकेटर बन्ने लक्ष्य बोकेर काठमाडौं हानिएका थिए । १० वर्षअघि आफूजस्तै अहिले नेपालले खेलेको ट्वान्टी–२० विश्वकप हेरेर अर्को पुस्ता प्रेरित हुने विश्वास उनको छ । 

रोहितका लागि विश्वकपको अर्थ अझ विशेष छ । नेपाल यू–१९ टोली २०१८ मा वर्षाले खेल बिथोलिएपछि यूएईसँग १ रनले पराजित हुन पुगेको थियो, जसका कारण नेपालले आईसीसी यू–१९ विश्वकप खेल्ने मौका गुमाएको थियो । केहि समय यसलाई स्वीकार्न उनलाई गाह्रो भएको थियो, तर यसले उनमा विश्वकप खेल्ने थप भोक जगाएको छ । अहिले नेपाली राष्ट्रिय टोलीले लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेलिरहँदा दुवैमा रोहित कप्तान छन् । 

रोहितकै कप्तानीमा नेपालले सन् २०२३ मा एकदिवसीय एसिया कप खेलको थियो । नेपालले २०२३ मै विश्वकप लिग–२ को १२ मध्ये ११ खेल जित्दा रोहितले नै त्यसको नेतृत्व गरेका थिए । मनोज प्रभाकर प्रशिक्षक हुँदा सन् २०२२ मै रोहितले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कप्तानी गरेका थिए । लगत्तै मोन्टी देसाई नेपालको प्रशिक्षक भएर 

आएपछि रोहितको खेल फक्रिएको हो । यसले उनलाई परिपक्व कप्तान पनि बनाएको थियो । त्यसयता नेपाली क्रिकेट पनि फेरिएको छ । रोहितको कप्तानी र सफलता सँगै आएका छन् । 

नेपाल प्रिमियर लिग (एनपीएल) ले रोहितलाई कप्तानीको जिम्मेवारी बुझ्ने अझ राम्रो अवसर प्रदान गर्दै आएको छ । पहिलो सिजनमा रोहितको लुम्बिनी लायन्स एनपीएलमा एक खेलमात्र जित्न सकेर पुछारमा थियो । कमजोर टोलीमा आँकिएको रोहितको लुम्बिनी लायन्सले यसपालि एनपीएल उपाधि नै उचालेर धेरैलाई आश्चर्यमा पारेको थियो । टोलीका धेरै खेलाडीले औसतमात्र प्रदर्शन देखाइरहँदा रोहितले कप्तानीमा भने जादु देखाउँदै लुम्बिनी लायन्सलाई विजेता बनाउन प्रमुख भूमिका खेलेका थिए । 

रोहितसामु अहिले यस्तै ठूलो अवसर ट्वान्टी–२० विश्वकपले लिएर आएको छ । नेपालले कुनै एक टेस्ट राष्ट्रलाई पराजित गरेमा वा ‘सुपर एट’ मा प्रवेश गरेमा रोहितको कप्तानीले नयाँ उचाइ लिन सक्छ । साथै यसले नेपाली क्रिकेटको धेरै ढोका खुल्ने निश्चित गर्नेछ । रोहित पनि मान्छन् यसपालि नेपालसामु सबैभन्दा राम्रो अवसर छ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully