प्याब्सन क्रिकेट लिगको ट्रफी र जर्सी सार्वजनिक

२८ माघदेखि तल्लो मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा आयोजक काठमाडौं प्याब्सन र सात प्याब्सन प्रदेश टोली गरी आठ छात्र टिमको सहभागिता रहनेछ ।

माघ २५, २०८२

कान्तिपुर संवाददाता

PABSON Cricket League trophy and jersey unveiled

What you should know

काठमाडौँ — प्याब्सन काठमाडौंको आयोजनामा हुने यू–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) को ट्रफी आइतबार सार्वनजिक गरिएको छ ।

प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले ट्रफी सार्वजनिक गरे । सो अवसरमा सहभागी टिमको नाम, लोगो, प्रायोजक, जर्सी र ‘एन्थम’ पनि सार्वजनिक गरिएको थियो ।

२८ माघदेखि तल्लो मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा आयोजक काठमाडौं प्याब्सन र सात प्याब्सन प्रदेश टोली गरी आठ छात्र टिमको सहभागिता रहनेछ ।

आयोजकको प्याब्सन काठमाडौं क्यापिटल्स, प्याब्सन सुदूरपश्चिम राइजिङ, प्याब्सन बागमती च्यालेन्जर्स, प्याब्सन गण्डकी इगल्स, प्याब्सन कर्णाली हाइल्यान्डर्स, प्याब्सन कोशी स्ट्राइकर्स, प्याब्सन लुम्बिनी मोङ्स र प्याब्सन मधेश रोयल्स दुई समूहमा विभाजन भई लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

टिम प्रायोजकमा मधेशको ट्रिटन मावि-कलेज, बागमतीको साउथ वेस्टर्न स्टेट कलेज, कोशीको फेका, कर्णालीको विनायक सिद्ध कलेज, गण्डकीको प्याब्सन काठमाडौं मेट्रो, सुदूरपश्चिमको तलेजु प्रकाशन, लुम्बिनीको प्याब्सन चन्द्रागिरि नगर कमिटी तथा काठमाडौं क्यापिटल्सको अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) रहेको प्रतियोगिता निर्देशक खिमबहादुर थापाले जानकारी गराए ।

अध्यक्ष अधिकारीले पछिल्लो समय नेपालमा लोकप्रिय खेलका रूपमा स्थापित क्रिकेटको यो उमेर समूहको प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडीको पहिचान गर्न मद्दत पुग्ने र क्रिकेट विकास र विस्तारमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

उनले प्रतियोगिताका लागि केन्द्रीय प्याब्सनबाट पाँच लाख र भ्याली पब्लिक स्कूलबाट एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए ।  

आयोजक प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले शिक्षासँगै प्याब्सनले राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले खेलकुदलाई पनि प्राथमिकतामा राख्दै आएको बताए । अध्यक्ष भट्टले यसै प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गर्दै ‘ड्रिम टिम’ निर्माण गरी सुविधासहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा अवसर प्रदान गर्ने बताए ।

प्रतियोगिता संयोजक तथा आयोजक प्याब्सन काठमाडौंका उपाध्यक्ष धनबहादुर पुनले सबै टिमको छनोट भइसकेको जानकारी गराए । 

कार्यक्रममा प्याब्सन बागमतीका अध्यक्ष मुरारीप्रकाश सन्जेलले पाँच लाख तथा केन्द्रीय प्याब्सनका सह–अध्यक्ष गोपालप्रसाद आचार्य, सर्वनाम शिक्षालय र पारामाउन्ट एकेडेमीका मुकुन्द पाण्डेले समान ५०–५० हजार उपलब्ध गराउने घोषणा गरे ।

कान्तिपुर

Link copied successfully