झापा गोल्डकप: आर्मी क्वार्टर फाइनल प्रवेश

झापाको डोमालाल राजवंशी रंगशालामा आइतबार सम्पन्न खेलमा आर्मीले सुरुदेखि नै दबाब बनाउँदै सहज जित निकालेको हो।

माघ २५, २०८२

कान्तिपुर संवाददाता

Jhapa Gold Cup: Army advances to quarterfinals

What you should know

बिर्तामोड — डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब सातौं एक्स्ट्रिम झापा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनल प्रवेश गरेको छ।

झापाको डोमालाल राजवंशी रंगशालामा आइतबार सम्पन्न खेलमा आर्मीलेसुरुदेखि नै दबाब बनाउँदै सहज जित निकालेको हो।

खेलको २७ औं मिनेटमा आर्मीले अग्रता लियो। दिनेश हेञ्जनको क्रस पासमा नविन लामाले वान–टचमार्फत आकर्षक गोल गर्दै टिमलाई अघि बढाए। आर्मीले पहिलोहाफको इन्ज्युरी समयमा अग्रता दोब्बर बनायो। कप्तान जिलेस्पीजंग कार्कीको पासमा नवयुग श्रेष्ठले गरेको एक्रोब्याटिक प्रहार गोलमा परिणत भयो।

दोस्रो हाफमा पनि आर्मीको दबाब जारी रह्यो। जर्जप्रिन्स कार्कीले मैदानको करिब २५ यार्ड दूरीबाट प्रहार गरेको फ्रिकिक सिधै जाली चुमेपछि आर्मीले ३–० को स्पष्ट अग्रता बनायो।

खेलको ३२ औं मिनेटमा आर्मीका कुशल देउवाले गरेको शक्तिशाली प्रहारलाई चर्च ब्वाइजका गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गरेका थिए। बल नियन्त्रणमा स्पष्ट अग्रता बनाए पनि आर्मीले थप गोल भने गर्न सकेन।

तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको चर्च ब्वाइजले विपक्षी पोस्टमा खासै दबाब सिर्जना गर्न सकेन। चर्च ब्वाइजका खेलाडीहरू आर्मीसामु निरीह देखिएका थिए। खेलको २१ औँ मिनेटमा विदेशी खेलाडी जिडेन नाहले डिबक्सभित्रबाट गरेको प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले बचाउ गरेका थिए।

उपाधिको दाबेदार मानिएको आर्मी यस रंगशालामा आयोजित प्रतियोगिताका चार सिजनको विजेता हो। गत सिजनदेखि सहभागिता जनाएको चर्च ब्वाइजले पहिलो सहभागितामै उपाधि जितेको थियो। तर यसपटक आर्मीसामु पराजित हुँदै चर्च ब्वाइज पहिलो चरणमै प्रतियोगिताबाट बाहिरिएको छ।

खेलको ‘प्लेयर अफ द म्याच’ आर्मीका नविन लामा घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

सोमबार हुने पहिलो क्वार्टर फाइनल खेलमा झापा–११ फुटबल क्लब र भारतको सिङलिङ स्पोर्टिङ क्लब (सिक्किम) आमनेसामने हुनेछन्।

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एक थान मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ। यसैगरी विधागततर्फ उत्कृष्टप्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही ३५ हजार रुपैयाँपुरस्कार प्रदान गरिनेछ।

कान्तिपुर

Link copied successfully