इंग्ल्यान्डद्वारा नेपाललाई विशाल लक्ष्य

इंग्ल्यान्डले पावर प्लेमा २ विकेट गुमाई ५७ र १२ ओभरमा ३ विकेट गुमाई १ सय ६ रन बनाएको थियो । तर नेपालले त्यसपछि राम्रो पुनरागमन गरेको थियो ।

माघ २५, २०८२

हिमेश, विनोद पाण्डे

England sets a huge target for Nepal

What you should know

मुम्बई — ज्याकोब बेथेल र कप्तान हृयारी ब्रुकको अर्धशतकमा इंग्ल्यान्डले ट्वान्टी–२० विश्वकपमा नेपाललाई १ सय ८५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले आइतबार वानखडे रंगशालामा निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८४ रन बनाएको हो ।

बेथेलले कुशल भुर्तेलको बलमा लगातार दुई छक्का प्रहार गर्दै २८ बलमा अर्धशतक पूरा गरेका थिए । उनले कुल ३५ बल खेलि समान ४ चौका र छक्का प्रहार गर्दै ५५ रन बनाए । उनी ट्वान्टी–२० विश्वकपमा अर्धशतक बनाउने इंग्ल्यान्डका सबैभन्दा कान्छा खेलाडी पनि हुन् ।

उनले यो सफलता २२ वर्ष ३ महिना १६ दिनका दिन बनाएका थिए । यसअघि क्रेग किसवेटरले २२ वर्ष ५ महिना १८ दिनका अर्धशतक बनाएका थिए ।

ब्रुकले १९ ओभरको पहिलो बलमा नन्दन यादवलाई छक्का प्रहार गर्दै ३२ बलमा अर्धशतक पूरा गरेका थिए । अर्को बलमै नन्दनले ब्रुकलाई शेर मल्लबाट क्याच गराए । ब्रुकले ४ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए ।

इंग्ल्यान्डले पावर प्लेमा २ विकेट गुमाई ५७ र १२ ओभरमा ३ विकेट गुमाई १ सय ६ रन बनाएको थियो । तर नेपालले त्यसपछि राम्रो पुनरागमन गरेको थियो । विशेषगरी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २५ रनमात्र खर्चेर १ विकेट लिए ।

नेपालले उत्कृष्ट सुरुआत गरेको थियो । ‘डेब्यु’ गरिरहेका शेर मल्लले आफ्नो पहिलो बलमै फिल सल्टलाई १ रनमा आउट गरे । खेलको दोस्रो ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका उनले सल्टलाई शर्ट फाइन लेगमा सन्दीप लामिछानेबाट क्याच गराए ।

जोस बटलरलाई नन्दन यादवले विकेटकिपर आसिफ शेखबाट क्याच गराए । बटलरले १७ बल खेलि ५ चौका प्रहार गर्दै २६ रन बनाए । आफ्नो इनिङ्सका क्रममा बटलर ट्वान्टी–२० विश्वकपमा एक हजार रन पुरा गरेका थिए ।

सन्दीप लामिछानेलाई टम बेन्टानले २ रनमा एलबीडब्लु आउट गरे । साम करनलाई दीपेन्द्रसिंह ऐरीले २ रनमा बोल्ड गरे । जोफ्रा आर्चर १ रनमा रनआउट भए । विल ज्याक ३९ रनमा अविजित रहे । इनिङ्सको अन्तिम ओभरमा करण केसीलाई ३ छक्का प्रहार गरेका ज्याकले १८ बल खेलि १ चौका र ४ छक्का प्रहार गरे ।  

दीपेन्द्र र नन्दनले २–२ विकेट लिए । दीपेन्द्रले ३ ओभरमा २३ र नन्दनले ३ ओभरमा २५ रन खर्चे ।

हिमेश

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully