डोमालाल राजवंशी रंगशालामा शनिबारको उद्घाटन खेलमा झापा–११ ले नेपाल पुलिस क्लबलाई २–१ गोलले पराजित गर्यो।
What you should know
बिर्तामोड — आयोजक झापा–११ फुटबल क्लबले उत्कृष्ट कमब्याक गर्दै एक्स्ट्रिम सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा स्थान बनाएको छ।
डोमालाल राजवंशी रंगशालामा शनिबारको उद्घाटन खेलमा झापा–११ ले नेपाल पुलिस क्लबलाई २–१ गोलले पराजित गर्यो। १–० ले पछि परेको अवस्थामा खेल उल्ट्याउँदै झापाको जितमा शिशिर लेखी र राजेश दाहालले समान एक–एक गोल गरे।
खेलको १२औं मिनेटमा पुलिसले अग्रता लिएको थियो। धीरेन्द्र साहको क्रसमा जोन विष्टले वान टचमार्फत गोल गरेका थिए। झापाले पहिलो हाफको इन्ज्युरी समयमा बराबरी गोल फर्कायो। राजेश दाहालको प्रहारलाई डिबक्सभित्र अनमार्क रहेका शिशिर लेखीले गोलमा परिणत गरे।
५९औं मिनेटमा शिशिर लेखीको फ्रिकिकमा राजेश दाहालले हेडमार्फत निर्णायक गोल गरे। उक्त गोल नै झापाको जितका लागि पर्याप्त बन्यो।
पाएका अवसरहरू सदुपयोग गर्न नसक्दा पुलिस प्रतियोगिताबाट बाहिरिएको छ। ३५औं मिनेटमा विजय उराउको प्रहार झापाका गोलकिपर सन्दीप लिम्बुले रोके भने ५२औं मिनेटमा वीरेन्द्र साहको प्रहार पनि गोलरक्षकले मुस्किलले बचाए। ५७औं मिनेटमा गोलकिपर अगाडि बढेको अवस्थामा पाएको अवसरसमेत पुलिसले खेर फाल्यो।
झापाका एरोन थापा मगरको ४१औं मिनेटमा डि–एरियाबाट गरिएको हेडर क्रसबारमालागेर फर्किएको थियो। खेलभरि झापाले टेक्निकल खेल प्रदर्शन गर्दै पुलिसमाथि दबाब कायम राखेको थियो।
खेलका प्लेयर अफ द म्याच झापाका राजेश दाहाल घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
आइतबार त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाइकल प्रदान गरिनेछ। उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।
प्रतियोगितामा नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी, मछिन्द्र क्लब, लालिगुराँस एसोसिएसन पोखरा, चर्च ब्वाइज युनाइटेड, आयोजक झापा–११ तथा भारत,भुटान र मलेसियाका क्लबहरूको सहभागिता रहेको छ।
प्रतियोगिताको उद्घाटन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले गरेकी थिइन्।
उद्घाटन समारोहमा रंगशालाका जग्गादाता परिवारकी छोरी सम्पति राजवंशीलाई १लाख १ हजार रुपैयाँ प्रदान गरिएको थियो। साथै डोमालाल राजवंशीको शालिक अनावरण र पूर्वअध्यक्ष विनोद बस्नेतको सम्मानमा मार्चपास गरिएको थियो।
