शिलास्थान युवा क्लबको आयोजनामा हुन लागेको दोस्रो चरणको खुला फुटबल प्रतियोगिता आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण सारिएको हो ।
डोटी — सिलगढीस्थित टुँडिखेलमा माघ १३ देखि १९ सम्म सञ्चालन गर्ने भनिएको डोटी गोल्ड कप-२०८२ सरेको छ ।
शिलास्थान युवा क्लबको आयोजनामा हुन लागेको दोस्रो चरणको खुला फुटबल प्रतियोगिता आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण सारिएको हो । क्लबका अध्यक्ष हिक्मत मलासीका अनुसार अब प्रतियोगिता चैत ५ गतेदेखि सञ्चालन गर्ने तयारी भइरहेको छ ।
आयोजकले पत्रकार सम्मेलनमार्फत पूर्वनिर्धारित मितिमा प्रतियोगिता सञ्चालन गर्न नसकिएको जनाउँदै निर्वाचन सम्पन्न भएलगत्तै प्रतियोगिता सञ्चालन गरिने स्पष्ट पारेको छ ।
डोटी जिल्लाकै ठूलो पुरस्कार राशिको प्रतियोगिताका रूपमा चिनिने डोटी गोल्ड कप स्थानीय खेलकुद विकासका लागि महत्त्वपूर्ण मानिन्छ । प्रतियोगितामा विजेता टोलीले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ८० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने छन् ।
स्थानीयस्तरमा खेलकुद गतिविधि विस्तार, युवा प्रतिभा पहिचान र समुदायमा खेल संस्कृतिको विकास गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
