डीसीए यू–१६ टोली मुम्बई प्रस्थान, स्थानीय क्लबसँग मैत्रीपूर्ण खेल्ने, विश्वकप हेर्ने

१४ दिने मुम्बई भ्रमणका क्रममा डीसीए यू–१६ टोलीले भारतका ६ वटा स्थानीय क्लबसँग मैत्रीपूर्ण क्रिकेट खेल खेल्नेछ । टोलीले वानखेडे स्टेडियममा नेपालले खेल्ने चार वटा खेल प्रत्यक्ष अवलोकन गर्नेछ ।

माघ २४, २०८२

टेकराज जोशी

DCA U-16 team leaves for Mumbai, plays friendly matches with local clubs, watches World Cup

धनगढी — धनगढी क्रिकेट एकेडेमी (डीसीए) को यू–१६ टोली भारतको मुम्बई प्रस्थान गरेको छ ।

मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा आयोजना हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका खेल अवलोकन गर्न तथा त्यहाँका स्थानीय क्लबहरूसँग मैत्रीपूर्ण क्रिकेट खेल खेल्न टोली शुक्रबार मुम्बई गएको हो। 

डीसीएका अध्यक्ष सुवाश शाहीका अनुसार १४ दिने मुम्बई भ्रमणका क्रममा डीसीए यू–१६ टोलीले भारतका ६ वटा स्थानीय क्लबसँग मैत्रीपूर्ण क्रिकेट खेल खेल्नेछ । साथै टोलीले वानखेडे स्टेडियममा नेपालले खेल्ने चार वटा खेल प्रत्यक्ष अवलोकन गर्नेछ । 

टोलीमा कुल १७ जना खेलाडी समावेश छन् । जसमध्ये धनगढी उपमहानगरपालिकाको ग्रासरुट क्रिकेट अभियानबाट उत्पादन भएका चार जना खेलाडी पनि रहेका छन् । अध्यक्ष शाहीले भने, ‘खेलाडीहरूले नेपालमै खेल र नेट अभ्यास गरेर मात्र पुग्दैन । खेलाडीको आत्मविश्वास वृद्धि गर्न भारतजस्तो शक्तिशाली क्रिकेट राष्ट्रसँग साझेदारी आवश्यक छ ।’

विश्वकप खेलिरहेका अन्तर्राष्ट्रिय स्तरका खेलाडीलाई नजिकबाट देख्न पाउनु नयाँ पुस्ताका खेलाडीका लागि ठूलो सिकाइ हुने उनको भनाइ छ । ‘डीसीएबाट खेलेका लोकेश बमजस्ता खेलाडी आज यही स्तरसम्म पुगेका छन्। अहिले खेल जीवनको सुरुवात गरिरहेका यी युवा खेलाडीका लागि मुम्बई टूर ठूलो अवसर हो,’ अध्यक्ष शाहीले भने । 

टेकराज जोशी कान्तिपुरका धनगढी संवाददाता हुन्।

Link copied successfully