घरेलु कोर्टमा शुक्रबार जेबीले स्कोलर्स होमलाई ३१–२५ ले पराजित गर्यो । जेबीका गौरव ओलीले ८ स्कोर गरे । विकास विष्टको ६ स्कोरमा बीएनएले त्रिवेणीलाई ३२–२० ले हरायो ।
काठमाडौँ — आयोजक जेबी स्कुल र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले दोस्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा विजयी सुरुआत गरेका छन् ।
घरेलु कोर्टमा शुक्रबार जेबीले स्कोलर्स होमलाई ३१–२५ ले पराजित गर्यो । जेबीका गौरव ओलीले ८ स्कोर गरे । विकास विष्टको ६ स्कोरमा बीएनएले त्रिवेणीलाई ३२–२० ले हरायो ।
जुनियर ब्वाइजमै लालीगुराँस नेसनल एकेडेमीले ओडिसी एकेडेमीलाई ३५–२५ तथा नेचरले ओएसिस् एकेडेमीलाई १८–१५ ले पाखा लगाए । लालीगुराँसका सुवास शाहीले १० र नेचरका सरोज गुरुङले ६ अंक जोडे ।
सिनियर गर्ल्समा इडेन ब्रिज एकेडेमी (इबीए) ले जेबीलाई २७–२५, फेरिल्यान्डले बीएनएलाई ३६–२५, ग्रिनल्यान्डले आरम्भलाई ३४–२० र बेलमोन्टले त्रिवेणीलाई १६–१० ले हराए । ईबीएकी मेनुका मगरले ८, फेरिल्यान्डकी सन्दिपा राईले १३, ग्रिनल्यान्डकी दीक्षा पाण्डेले १६ र बेलमोन्टकी खुशी तामाङले १० स्कोर गरे ।
प्रतियोगिताको पूर्व मन्त्री रेशम लामा, आयोजक विद्यालय सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद ओस्ती र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला घलानले संयुक्त रुपमा उद्घाटन गरे । माघ २८ सम्म चल्ने प्रतियोगिताको सिनियर गर्ल्स र जुनियर ब्वाइजमा १२–१२ टिम सहभागी छन् ।
