विश्वविद्यालयमा अध्ययनरत २८ वर्षमुनिका विद्यार्थीलक्षित प्रतियोगितामा १९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
What you should know
काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय परिसरमा बिहीबार सुरु भएको छ ।
पहिलो दिन थ्री अन थ्री बास्केटबलमा त्रिभुवन विश्वविद्यालयले दोहोरो उपाधि जितेको छ । त्रिवि पुरुष/महिला दुवैमा च्याम्पियन बन्यो ।
पुरुषको फाइनलमा त्रिविले पूर्वाञ्चल विश्वविद्यालयलाई २१–९ स्कोरले पराजित गर्यो । महिलातर्फ त्रिविले काठमाडौं विश्वविद्यालयलाई १५–४ ले हरायो । पुरुषमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र महिलामा पूर्वाञ्चल तेस्रो स्थानमा रहे ।
टेबलटेनिसको पुरुष सिंगल्समा त्रिभुवन विश्वविद्यालयका हिमाल विष्ट र सुजन गडाल, पूर्वाञ्चल विश्वविद्यालयका श्रृजल सुवाल तथा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका आयुश बम सेमिफाइनलमा पुगे । महिलामा त्रिविकी वियंका राई र योङ्गी पौडेल तथा काठमाडौं विश्वविद्यालयका आस्मा पाण्डे र स्वस्ती प्रधानले सेमिफाइनल यात्रा तय गरे ।
ब्याडमिन्टनको पुरुष सिंगल्समा त्रिविका क्षितिज खनाल, नरेन्द्र बम, त्रिभुवनका दिप्रिस वज्राचार्य र काठमाडौंका श्रीलंकाली थनु सिक्का गुना ओर्डेना सेमिफाइनलमा पुग्न सफल भए । महिलामा त्रिविका रशिला महर्जन र भुवन खेतान तथा काठमाडौंकी प्रसुना खत्री र विपिकाले सेमिफाइनलमा स्थान बनाए ।
पुरुष भलिबलमा काठमाडौंले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई ३–१, मध्यपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमाञ्चललाई ३–० तथा त्रिविले गण्डकी विश्वविद्यालयलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा पुगे । पूर्वाञ्चलले कृषिलाई ३–१ ले हराएर क्वाटरफाइनलमा पुग्यो ।
त्यसअघि प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौड्यालले उद्घाटन गर्दै विकसित देशमा खेलकुदलाई देशको अर्थतन्त्र वृद्धिको पाटोका रूपमा लिइने धारणा व्यक्त गरे ।
राखेपका सदस्य–सचिव रामचरित्र मेहताले विश्वविद्यालय खेलकुदको आकर्षण बढ्दै गएको बताउँदै आगामी दिनमा प्रतियोगिता परिष्कृत गर्ने प्रतिबद्धता जनाए ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेले खेलकुद राष्ट्रिय एकताको प्रतीक भएको स्मरण गराए । राखेप कार्यकारी समितिका सदस्य एवं प्रतियोगिता संयोजक कमलबहादुर भट्टराईले तेस्रो संस्करणसम्म आइपुग्दा विश्वविद्यालय खेलकुदको दायरा फराकिलो बन्दै गएको बताए ।
काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सहआयोजना तथा केआइईस एजुकेसन कन्सल्टेन्सीको प्रायोजनमा भइरहेको प्रतियोगितामा एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, बास्केटबल (थ्री बाइ थ्री) र भलिबल गरी ५ खेल समावेश छन् । दुईदिने प्रतियोगितामा विभिन्न ९ विश्वविद्यालयबाट २ सय ७९ खेलाडी सहभागी छन् । भलिबलमा भने छात्रतर्फ मात्र प्रतिस्पर्धा हुनेछ ।
विश्वविद्यालयमा अध्ययनरत २८ वर्षमुनिका विद्यार्थीलक्षित प्रतियोगितामा १९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । निर्णायकबाट टेबलटेनिसका पूर्व राष्ट्रिय च्याम्पियन शिवसुन्दर गोथे र खेलाडीबाट दीपेन्द्र अवस्थीले शपथ ग्रहण गरेका थिए ।
