बिहीबार सम्पन्न फाइनलमा इनरुवाको स्मल हेभनले इटहरीको नमुना कलेजको ग्रिनपिस एकेडेमीलाई ९ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
सुनसरी — नमुना कलेजलाई पराजित गर्दै स्मल हेभन स्कुलले इटहरीमा भएको हिसान कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीको आयोजनामा भएको प्रतियोगिताको बिहीबार सम्पन्न फाइनलमा इनरुवाको स्मल हेभनले इटहरीको नमुना कलेजको ग्रिनपिस एकेडेमीलाई ९ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
जनता क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नमुनाले निर्धारित १० ओभरको खेलमा सबै विकेट गुमाउँदै ४८ रनको सामान्य योगफल बनाएको थियो । नमुनाका लागि आदित्य विकले २९ रन बनाउनुबाहेक अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् । स्मल हेभनका अमित मेहताले ४ विकेट लिँदा रबिन मण्डलले ३ विकेट हात पारे ।
जवाफमा ४९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको स्मल हेभनले ७ दशमलव २ बलमा १ विकेट गुमाउँदै सहजै लक्ष्य पूरा गर्यो । रबिन मण्डलले नटआउट ३२ रन बनाएर टिमलाई उपाधि जिताए । उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीसँगै बेस्ट ब्याटरसमेत बने ।
जारी प्रतियोगितामा उनले १ सय ५३ रन बनाउनुका साथै ४ विकेटसमेत हात पारेका थिए । प्लेयर अफ द फाइनलसमेत भएका स्मल हेभनका अमित मेहेता वेस्ट बलर बने । प्रतियोगिताभर उनले ११ विकेट लिएका थिए ।
विजेता तथा उपविजेता खेलाडीलाई हिसान सुनसरीका अध्यक्ष सागर भट्टराई, सचिव सुभास लुईंटेल, प्रतियोगिता संयोजक अनन्त सुवेदी र क्यान सुनसरी अध्यक्ष सीपी पौडेलले ट्रफी प्रदान गरे । हिसान सुनसरीको १२ औं स्पोर्ट्स मिटअन्तर्गत जारी प्रतियोगितामा सुनसरीका ८ वटा कलेजको सहभागिता रहेको थियो ।
