बिहीबार दाङविरुद्ध १ सय २ रनको फराकिलो जित निकाल्दै रूपन्देही फाइनलमा पुगेको हो ।
What you should know
भैरहवा — घरेलु टिम रूपन्देही यहाँ सञ्चालन भइरहेको प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय छनोटको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार दाङविरुद्ध १ सय २ रनको फराकिलो जित निकाल्दै रूपन्देही फाइनलमा पुगेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा रूपन्देहीले दाङलाई १ सय २ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ राजेको रूपन्देहीले मौसमका कारण २७ ओभरमा छोट्याइएको खेलमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो । रूपन्देहीका लागि आकाश त्रिपाठीले ४३, दीपेश रोक्काले ४०, देव खनालले ३३, कृष्ण कार्कीले २८ र सन्तोष यादवले १८ रन जोडे ।
दाङका वीरबहादुर घर्ती, दिनेश बोहरा र किसान भारतीले २–२ तथा शुभम खनालले १ विकेट लिए । जवाफी ब्याटिङ गरेको दाङ २४ ओभर २ बलमा अलआउट हुँदै ८९ रनमै समेटियो । रूपन्देहीका मौसम ढकालले ३, अजय चौहानले २ तथा सन्देश थापा, कृष्ण कार्की र देव खनालले समान १–१ विकेट लिए । दाङका दिनेश बोहराले सर्वाधिक २९ रन बनाए ।
नवलपरासी विजयी
तिलोत्तमाको एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा नवलपरासीले पाल्पालाई १ सय ५ रनले हरायो । सुरुमा ब्याटिङ गरी नवलपरासीले निर्धारित २५ ओभरमा ७ विकेट गुमाएर २ सय १५ रन बनायो । जवाफमा पाल्पा १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १० रनमै समेटिएको थियो ।
माघ २४ गतेसम्म चल्ने प्रतियोगितामा लुम्बिनी प्रदेशका ७ जिल्लाका टिम सहभागी छन् । छनोट खेलको विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्लेयर अफ द म्याचले ११ हजार १ सय ११ र प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार १ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जनाए ।
