विश्वकप अघि नेपालको दोस्रो तथा अन्तिम अभ्यास खेलमा कप्तान रोहित पौडेल उपलब्ध हुने छैनन् ।
What you should know
मुम्बई — नेपालले आईसीसी ट्वान्टी २० विश्वकपको अभ्यास खेलमा बिहीबार चेन्नईमा क्यानडाको सामना गर्दैछ । यो नेपालको दोस्रो अभ्यास खेल हो । पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको थियो ।
विश्वकप अघि नेपालको दोस्रो तथा अन्तिम अभ्यास खेलमा कप्तान रोहित पौडेल उपलब्ध हुने छैनन् । उपकप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा नेपालले चेन्नईको चेपकस्थित एमए चिदाम्बरम रंगशालामा उत्रिने भएको बताइएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार दिउँसो सञ्चारकर्मीसँग कुराकानी गर्न मुम्बईमा ‘क्याप्टेन्स डे’ राखेको छ र त्यसका लागि रोहित मुम्बई आउनेक्रममा रहेका छन् । नेपालसहित भारत, अफगानिस्तान, क्यानडा, इंग्ल्यान्ड, इटाली, न्युजिल्यान्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज ‘क्याप्टेन्स डे’ मा सहभागी हुनेछन् ।
अन्य टोलीको ‘क्याप्टेन्स डे’ श्रीलंकाको कोलम्बोमा राखिएको छ । भारत र श्रीलंकाले यस ट्वान्टी–२० विश्वकप खेल संयुक्त रुपमा आयोजना गरिरहेका छन् । नेपाली टोली क्यानडासँग खेलेर शुक्रबार मात्र मुम्बई आई पुग्ने छ । नेपालले आइतबार इंग्ल्यान्डसँग मुम्बईको वाङ्खडे रंगशालामा खेलेर ट्वान्टी–२० विश्वकपको सुरुआत गर्नेछ ।
दीपेन्द्र र आरिफ शेखको अर्धशतकमा नेपालले मंगलबार यूएईलाई पराजित गरेको थियो, जुन तेस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्दै गरेको नेपालले अभ्यास खेलमै पहिलो जित हो । दुई वर्ष अघि अमेरिकाको विश्वकपमा भएको अभ्यास खेलमा क्यानडाले डालासमा भएको अभ्यास खेलमा नेपाललाई ६३ रनले पराजित गरेको थियो ।
नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८७ रन बनाएको थियो, जबाफमा आएको नेपाल १९.३ ओभरमा १ सय २० रनमा अलआउट भएको थियो । पछि क्यानडाले आयरल्यान्डलाई पराजित गरेको थियो । पुबुदु अहिले अमेरिकाको प्रशिक्षकमा छन् ।
नेपालले एसिया–इष्ट एसिया प्यासिफिक क्षेत्रको सबै ६ खेल जितेर यस ट्वान्टी–२० विश्वकपका लागि छनोट भएको हो । क्यानडाले पनि अमेरिकी क्षेत्रको सबै ६ खेल जितेर ट्वान्टी–२० विश्वकप पुगेको हो ।
क्यानडा दिलप्रित बज्वाको कप्तानीमा रहेको छ, उनले आधिकारिक खेलमा कप्तानी नै गर्न बाँकी रहेको छ । टोलीमा साद बिन जाफर, निकोलास कीर्तन र नवनीत ढालिवाल गरि ३ पूर्व कप्तान छन् । जाफर र कीर्तनले यसअघि काठमाडौंमा आएर नेपाल प्रिमियर लिग क्रिकेट खेलेका थिए ।
क्यानडा चेन्नईमै भएको पहिलो अभ्यास खेलमा इटालीसँग १० रनले पराजित गरेको थियो । क्यानडाले सोमबार अहमदाबादमा दक्षिण अफ्रिकासँग खेलेर ट्वान्टी–२० विश्वकपको सुरुआत गर्नेछ ।
