बुढासुब्बा गोल्डकपमा आयोजक धरानको विजयी सुरुवात

बिहीबार भएको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।

माघ २२, २०८२

अर्जुन सुवेदी

Host Dharan makes winning start in Budhasubba Gold Cup

What you should know

सुनसरी — आयोजक धरान फुटबल क्लबले २६ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा विजयी सुरुवात गरेको छ ।

बिहीबार भएको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।

धरान रंगशालामा भएको खेलमा निर्धारित समय १–१ गोलको बराबरी भएपछि समय अभावका कारण खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा धरानका तर्फबाट बिबेक राई, सबिन राई, प्रजल थापा र नगेन राईले गोल गरे । जर्जियनको तर्फबाट सरद मुण्डा र साइजाले मात्र गोल गरे । 

बक्सर प्रधानको प्रहार बाहिरियो भने बिशाल क्षेत्रीको प्रहार धरानका गोलकिपर सब्सिच्युड गोलकिपर बिपुल मगरले बिफल बनाए । बिपुल खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पाए । यसअघि निर्धारित समयको ८ औं मिनेटमा जर्जियनका हेमराज भुजेलले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । तर खेलको १९ औ मिनेटमा धरानका कप्तान तपन मगरले गोल फर्काएपछी खेल १–१ को बराबरीमा आयो । बांकी समय कुनै टिमबाट गोल नभएपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । 

उद्घाटन खेलको बिजेता धरानले अब पोखराको लालीगुराँस एफसीसँग माघ २६ गते क्वाटरफाइनलमा प्रतिष्पर्धा गर्नेछ । लालीगुराँसले सिधै बाई पाएर क्वाटरफाइनल खेल्नेछ ।

शुक्रबारको दोस्रो प्रि–क्वाटरफाइनल खेल अर्को पाहुना टोली रोयल थिम्पु फुटबल क्लब भुटान र झापा ११ बीच प्रतिष्पर्धा हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । 

फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा यसपटक १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका विजेता टोलीले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख पुरस्कार पाउनेछ । दुबै पुरस्कार राशी धरान उपमहानगरपालिकाले उपलब्ध गराएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान होण्डाको डियो स्कुटर पाउनेछ । गत वर्षसम्म भने उत्कृष्ट खेलाडीले एक लाख नगद पुरस्कार पाउँदै आएको थियो । बिधागत उत्कृष्टलाई जनही नगद २५ हजार पुरस्कार प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउनेछन् ।

अर्जुन

Link copied successfully