बुढासुब्बा गोल्डकप आजदेखि, पहिलो खेलमा आयोजक र जर्जियन फुटबल क्लब भिड्दै

उद्धघाटन खेलको विजेताले पोखराको लालिगुराँस एफसीसँग माघ २६ गते क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

माघ २२, २०८२

अर्जुन सुवेदी

Budhasubba Gold Cup starts today, hosts and Georgian football club to face off in first match

What you should know

सुनसरी — २६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उद्धघाटन खेलमा आयोजक धरान फुटबल क्लब र पाहुना टोली जर्जियन फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ बजे धरान रंगशालामा सुरु हुनेछ । 

प्रतियोगिता खेल्न भारतीय क्लब हिजै धरान आइपुगेको छ । उद्धघाटन खेलको विजेताले पोखराको लालिगुराँस एफसीसँग माघ २६ गते क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । लालिगुराँसले सिधै बाई पाएर क्वाटरफाइनल खेल्नेछ ।

आयोजक धरान फुटबल क्लबले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ । फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा यसपटक पहिलो पटक १० वटा टोलीको सहभागिता रहनेछ । गोल्डकपमा भारत र भुटानको टोलीसहित साविक विजेता एनआरटी, उपविजेता चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ क्लब, नेपाल पुलिस क्लब, झापा–११ ले पनि सहभागीता जनाएका छन् ।

प्रतियोगितामा सहभागी हुन भारतीय टोली सहित भुटानको रायल थिम्पु फुटबल एफसी पनि धरान आइपुगेको क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । प्रतियोगिताका विजेता टोलीले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

दुवै पुरस्कार राशी धरान उपमहानगरपालिकाले उपलब्ध गराएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान होण्डाको डियो स्कुटर पुरस्कार पाउनेछ । गत वर्षसम्म भने उत्कृष्ट खेलाडीले एक लाख नगद पुरस्कार पाउँदै आएको थियो । यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद १० हजार पाउनेछ भने विधागत उत्कृष्टले जनही नगद २५ हजार पुरस्कार पाउनेछन् । सर्वाधिक गोलकर्ताले नगद ३५ जार पाउनेछन् । 

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा आयोजना हुन लागेको गोल्डकप सञ्चालनका लागि प्रशासनले निश्चित शर्तसहित अनुमति दिएको आयोजकले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले खेल मैदानमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उमेद्धवारी दिएका उमेद्धवारहरुलाई सहभागी गराएर भाषण गर्न नपाउने, खेल मैदानमा गएर भोट माग्न नपाउने जस्ता शर्तहरु तोकेर अनुमति दिएको हो । 

अर्जुन

Link copied successfully