पहिलो सेमिफाइनलमा नमुना कलेजले सुष्मा गोदावरी कलेजलाई ४९ रनले पराजित गर्यो भने दोस्रो सेमिफाइनलमा स्मल हेभन स्कुलले कोसी सेन्टजेम्सलाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
What you should know
सुनसरी — नमुना कलेज र स्मल हेभन स्कुल इटहरीमा जारी हिसान कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीको आयोजनामा भैरहेको प्रतियोगिताको बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा इटहरीको नमुनाले सुष्मा गोदावरी कलेजलाई ४९ रनले पराजित गर्दै उपाधिनजिक पुगेको हो ।
जनता क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नमुनाले निर्धारित १० ओभरको खेलमा ३ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो । नमुनाका लागि राजु विकले अर्धशतकीय इनिङ खेले । उनले २५ बलमा ५८ रन बनाएर अविजित रहे । गुञ्जन दाहालले ११ रन जोडे । जवाफमा १ सय ९ रनको विजयी लक्ष्य पछ्याएको सुष्मा गोदावरीले ६ विकेट गुमाउदै ५९ रन मात्र बनाउन सक्यो । उसका लागि अनिल बस्नेतले नटआउट २६ रन बनाउँदा एमडी आदिलले १६ रन जोडे । नमुनाका राजु विक प्लेयर अफ द म्याच घोषित भए ।
बुधबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा इनरुवाको स्मल हेभन स्कुलले इटहरीको कोसी सेन्टजेम्सलाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गर्दै नमुनासँगको उपाधि भिडन्त पक्का गरेको छ । स्मल हेभनले प्रस्तुत गरेको १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको कोसी सेन्टजेम्स १० ओभरमा सबै विकेट गुमाएर ५८ रनमा समेटियो । कोसी सेन्टजेम्सका मोहित विश्वकर्माले २२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको इनरुवाको स्मल हेभनले ४ विकेट गुमाउँदै १ सय ६२ रनको योगफल खडा गरेको थियो । उसका लागि रबिन मण्डलले ३५ बलमा ७६ रनको उत्कृष्ट पारी खेले । खालिद खानले ३४ रन जोडे । रबिन प्लेयर अफ द म्याच बने । स्मल हेभन र नमुनाबीचको उपाधी भिडन्त बिहीबार हुनेछ ।
हिसान सुनसरीको १२ औं स्पोर्ट्स मिटअन्तर्गत जारी प्रतियोगितामा सुनसरीका ८ वटा कलेजको सहभागिता रहेको थियो । सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग भएको प्रतियोगिताले कलेजस्तरीय खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्नुका साथै क्रिकेटप्रतिको आकर्षण थप्ने विश्वास लिइएको छ ।
