जेबी विद्यालयस्तरीय बास्केटबल शुक्रबारदेखि

प्रतियोगितामा सिनियर गर्ल्स र जुनियर ब्वाइजमा १२–१२ टिमको सहभागिता रहने जेबी स्कुलका प्रिन्सिपल नारायण रोकाले बुधबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

माघ २१, २०८२

कान्तिपुर संवाददाता

JB school level basketball from Friday

काठमाडौँ — जेबी स्कुलको आयोजनामा दोस्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा सिनियर गर्ल्स र जुनियर ब्वाइजमा १२–१२ टिमको सहभागिता रहने जेबी स्कुलका प्रिन्सिपल नारायण रोकाले बुधबार पत्रकार सम्मेलनमा जानकारी गराए । दुवै विधामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ ।

हरेक समूहको विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्नेछन् । सिनियर गर्ल्समा कक्षा ९ सम्म तथा जुनियर ब्वाइजमा कक्षा ७ सम्म अध्ययनरतले प्रतियोगितामा भाग लिन पाउनेछन् ।

सिनियर गर्ल्सको समूह ‘ए’ मा तेजस्वी एकेडेमी, जेबी र इडेन ब्रिज एकेडेमी (इबीए), समूह ‘बी’ मा आरम्भ, ग्रिनल्यान्ड र मन्जरी, समूह ‘सी’ मा त्रिवेणी, भ्याली पब्लिक र बेलमोन्ट तथा समूह ‘डि’ मा बसुन्धरा नेसनल एकेडेमी (बीएनए), फेरिल्यान्ड र सत्य साइ रहेका छन् ।

जुनियर ब्वाइजको समूह ‘ए’ मा आरम्भ, ओएसिस एकेडेमी र पारामाउन्ट एकेडेमी तथा समूह ‘बी’ मा जेबी, स्कोलर्स होम र पारामाउन्ट छन् । बीएमसीए, लालीगुराँस नेसनल एकेडेमी र ओडिसी एकेडेमी समूह ‘सी’ तथा त्रिवेणी, बीएनए र ग्रीनल्यान्ड समूह ‘डी’ मा छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजक जेबीकी निर्देशक सुजु थापाले बताइन् । माघ २८ गतेसम्म चल्ने प्रतियोगिताका खेल आयोजककै कोर्टमा खेलाइने छ । जेबीका भाइस प्रिन्सिपल गणेश न्यौपाने र बास्केटबल प्रशिक्षक नारायण सापकोटाले प्रतियोगिताबारे थप प्रकाश पारेका थिए ।

कान्तिपुर

Link copied successfully