मंगलबार प्रतिस्पर्धाको अन्तिम दिन र्याफ्टिङका तीनवटै मुख्य विधामा उत्कृष्ट प्रदर्शन गर्दै फिस्लिङ ‘ए’ ले कुल ९७२ अंक जोडेर ट्रफी जितेको हो ।
What you should know
काठमाडौँ — चितवनको फिस्लिङमा सम्पन्न नवौं राष्ट्रिय र्याफ्टिङ तथा १४ औं राष्ट्रिय क्यानोइङ प्रतियोगितामा नेपाल र्याफ्टिङ एन्ड कायक क्लब फिस्लिङ ‘ए’ ले उपाधि जितेको छ ।
मंगलबार प्रतिस्पर्धाको अन्तिम दिन र्याफ्टिङका तीनवटै मुख्य विधामा उत्कृष्ट प्रदर्शन गर्दै फिस्लिङ ‘ए’ ले कुल ९७२ अंक जोडेर ट्रफी जितेको हो । सहभागी कुल १२ क्लबलाई पछि पार्ने क्रममा फिस्लिङ ‘ए’ ले स्लालममा ३००, हेड–टु–हेडमा ३५० र डाउन रिभर रेसमा ३२२ अंक प्राप्त गर्यो । प्रतियोगितामा ८९९ अकसहित प्याडल नेपाल ‘बी’ दोस्रो र ८५१.५ अंकसहित र्याफ्टिङ एड्भेन्चर नेपाल तेस्रो भए । त्यस्तै, भोटेकोसी एड्भेन्चर क्लबका ‘ए’ र ‘सी’ टोली क्रमशः चौथो र पाँचौं स्थानमा सीमित रहे ।
प्रतियोगिताको कायक स्लालोम विधामा विजय माझी च्याम्पियन बनेका छन् । उनले निर्धारित दूरी १२४.५१ स्कोरसहित पूरा गर्दै शीर्षस्थान हासिल गरे । सोही विधामा आशिष रानामगर १२६.९२ स्कोरसहित दोस्रो स्थानमा रहे । रन्जन कँडेल, रवीन्द्र चेपाङ र रुबिन तामाङले क्रमशः तेस्रो, चौथो र पाँचौं स्थान सुरक्षित गरे । र्याफ्टिङ विजेता टोलीले ६५ हजार, दोस्रोले ३५ हजार र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गरे । कायक स्लालोमतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ हात पारे ।
बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा आयोजित उक्त प्रतियोगिताका विजयी खेलाडीलाई परिषद्का सदस्य–सचिव दीपक लामा, नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ तथा एसियन र्याफ्टिङ एसोसिएसनका अध्यक्ष सौगत पाल सिकन्दले पुरस्कार वितरण गरे । अध्यक्ष श्रेष्ठले क्यानोइङ/स्लालोम विधामा उत्कृष्ट ५ भित्र पर्न सफल खेलाडीलाई जापानमा हुने एसियाली खेलकुदको पहिलो चरणको छनोट प्रक्रियामा सहभागी गराइने जानकारी गराए ।
