डोल्पाबाट काठमाडौं पुगेर तेक्वान्दोमार्फत उचाइ पाएका विमल

सन् २०२० देखि हात्तीवन तेक्वान्दो एकेडेमी सञ्चालन गरेर खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् । एकेडेमीले बर्सेनि तेक्वान्दोका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिरहेको उनले बताए ।

माघ २१, २०८२

रामचन्द्र न्यौपाने

Bimal, who reached Kathmandu from Dolpa and gained fame through Taekwondo

What you should know

डोल्पा — पहाड र हिमाली जिल्लामा प्रायः भलिबल लोकप्रिय खेल हो । तर, जिल्लाको ठूलीभेरी नगरपालिका–५ मा जन्मिएका विमल रोकायको तेक्वान्दो खेलप्रति विशेष लगाव छ । २९ वर्षीय उनी तेक्वान्दोका राष्ट्रिय खेलाडी र प्रशिक्षक हुन् ।

तेक्वान्दोप्रतिको रुचिले कलिलै उमेरमा दुई दर्जनभन्दा धेरै अन्तरदेशीय प्रतियोगितामा सहभागी भएर स्वर्ण, कास्य तथा रजत पदक जितिसकेका छन् । दुर्गममा हुर्किएर पनि उनले ललितपुरको हात्तीवनमा खेलकुद एकेडेमी सञ्चालन गरेका छन् । उनका दाइ सुवर्ण बक्सिङ खेलाडी हुन् । दाइकै प्रेरणाले खेलकुद क्षेत्रमा लागेको उनले बताए । स्कुलबाटै काराँतेको प्रशिक्षण लिएका उनको खेलाडी बन्ने प्रण थियो । त्यसैले उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पुगेपछि पढाइसँगै तेक्वान्दो सिक्न थाले । 

‘काठमाडौं आएपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला डोजाङमा तेक्वान्दो सिक्न सुरु गरेको हुँ,’ रोकायले भने, ‘थप प्रशिक्षण ललितपुरमा पनि लिएँ । सानै उमेरमा दुई दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा भाग लिने अवसर पाएँ ।’ भारत, थाइल्यान्ड, बंगलादेश, हङकङ, जापान, मलेसिया लगायतका मुलुकमा उत्कृष्ट प्रदर्शन गरेर स्वर्ण, कास्य, रजत पदक जितिसकेको उनले बताए ।

सन् २०१५ मा ललितपुरमा भएको मार्सल आर्ट्स प्रतियोगितामा उत्कृष्ट भएर स्वर्ण पदक जितेका थिए । सन् २०१९ मा थाइल्यान्डमा भएको पाँचौं हिरोज इन्टरनेसनल तेक्वान्दो प्रतियोगितामा कास्य पदक र सन् २०२३ मा हङकङमा भएको २७ औं एसियन सिटिज तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेको उनले बताए । 

सन् २०२३ मा बंगलादेशमा भएको बंगबन्धु ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप र २०२४ मा भारतमा भएको प्रधानमन्त्री कप तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेको उनले बताए । सन् २०२५ मा जापानको ओशाकामा भएको २१ औं वाटा जापान ओपन तेक्वान्दो च्याम्पियनसिपमा उनले रजत पदक जितेका थिए ।

सन् २०२५ मै नेपालमा भएको कुकिवान कप अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा कास्य र मलेसियामा भएको २१ औं स्पिड तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल भएको उनले जनाए । 

सन् २०२० देखि हात्तीवन तेक्वान्दो एकेडेमी सञ्चालन गरेर खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् । एकेडेमीले बर्सेनि तेक्वान्दोका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिरहेको उनले बताए । 

सरकारले सञ्चालन गरेको हाइ परफमेन्स कोर्स पूरा गरेका उनले एकेडेमी सञ्चालनसँगै ललितपुरस्थित माछापुच्छ्रे वर्ल्ड स्कुल र धापाखेलको रेजिडेन्ट स्कुलमा तेक्वान्दो सिकाउँदै आएका छन् । बाँकी जीवन यसै क्षेत्रमा समर्पित गरेर खेलाडी उत्पादनमा लाग्ने उनी बताउँछन् । तेक्वान्दोप्रतिको समपर्णका कारण १२ कक्षा पास गरेपछि पढाइमा ब्रेक लागेको उनले बताए । 

नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशबाट छनोट भएर पोखरा पुगेका विमल एक्कासि बिरामी भएर खेल्न पाएका थिएनन् । कर्णाली प्रदेशमा हुन लागेको दसौं राष्ट्रिय खेलकुदमा भाग लिनका लागि खेल सञ्चालनको प्रतीक्षामा रहेको उनले बताए ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully