आगामी बिहीबारदेखि फागुन २ गतेसम्म धरान रंगशालामा सञ्चालन हुने प्रतियोगितामा यसपटक पहिलो पटक १० वटा टोलीको सहभागिता रहनेछ ।
What you should know
सुनसरी — २६ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
आयोजक धरान फुटबल क्लबले मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।
आगामी बिहीबारदेखि फागुन २ गतेसम्म धरान रंगशालामा सञ्चालन हुने प्रतियोगितामा यसपटक पहिलो पटक १० वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र पाहुना टोली जर्जियन फुटबल क्लब (भारत) बीच हुने तय भएको छ ।
प्रतियोगितामा सहभागी हुन भारतीय टोलीसहित भुटानको रायल थिम्पु फुटबल एफसी बुधबार धरान आइपुग्ने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । प्रतियोगिताका विजेता टोलीले नगद १० लाख रुपैयाा प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख पाउनेछ ।
दुबै पुरस्कार राशी धरान उपमहानगरपालिकाले उपलब्ध गराएको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा आयोजना हुन लागेको गोल्डकप सञ्चालनका लागि प्रशासनले निश्चित शर्तसहित अनुमति दिएको आयोजकले जनाएको छ ।
जिल्ला प्रशासन कार्यलयले खेल मैदानमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उमेद्वारीहरुलाई सहभागी गराएर भाषण गर्न नपाउने, खेल मैदानमा गएर भोट माग्न नपाउने जस्ता शर्तहरु तोकेर अनुमति दिएको हो । आयोजकले आचारसंहिताको पूर्णपालना गर्दै प्रतियोगिता सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।
२०५५ सालदेखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप नेपाली फुटबलकै प्रतिष्ठित प्रतियोगितामध्ये एक मानिन्छ । आयोजक धरान फुटबल क्लबका लागि भने गोल्डकप उपाधि सधैंजसो ‘अभाव र प्रतीक्षा’ को कथा बनेको छ । आफ्नै मैदानमा आयोजना हुँदै आएको प्रतियोगितामा धरान फुटबल क्लब अहिलेसम्म उपाधिबाट बञ्चित रहँदै आएको छ ।
पाँचपटक फाइनलसम्मको यात्रा तय गरे पनि हरेक पटक उपविजेतामै सीमित हुनुपरेको छ । यसपटक क्लबले उपाधि जित्ने लक्ष्यका साथ कडा तयारी गरिरहेको क्लबका अध्यक्ष तामाङ बताउँछन् ।
नेपाली फुटबलको पहिचान बनेको बुढासुब्बा गोल्डकपको २६ औं संस्करण नजिकै आइपुग्न लाग्दा यसको रौनक झनै बढेको उल्लेख गर्दै त्यही अनुसार टिमले तयारी गरिरहेको तामाङको भनाई छ ।
