निजी क्षेत्रको लगानीमा धनगढीमा क्रिकेट मैदान बन्दै

अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट मैदान धनगढी ओभल आगामी वैशाखदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

माघ २०, २०८२

टेकराज जोशी

Cricket ground being built in Dhangadhi with private sector investment

What you should know

धनगढी — ‘सिटी अफ क्रिकेट’ को परिचय बनाउँदै आएको कैलालीको धनगढी उपमहानगरपालिकामा निजी क्षेत्रको लगानीमा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट मैदान धनगढी ओभल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

क्रिकेट अभियन्ता सुवास शाही र मोहन साउँदको लगानीमा धनगढी उपमहानगरपालिका–३, बोराडाँडीमा करिब ५ बिघा क्षेत्रफलमा निर्माणाधीन मैदानको काम अन्तिम चरणमा पुगेको हो । मैदान निर्माणको काम आठ महिनाअघि सुरु गरिएको हो । हालसम्म भरान गरेर मैदान सम्याउने, तथा चारैतिर तारजाली लगाउने काम सम्पन्न भइसकेको छ । 

मैदानको सिँचाइका लागि ३६० डिग्री ड्रेनेज प्रणाली तयार पारिएको छ । सोमबारदेखि पिच निर्माणको काम पनि सुरु गरिएको छ । ‘पहिलो चरणमा चार वटा पिच निर्माण सुरु गरेका छौं,’ पिचको शिलान्यास गर्दै लगानीकर्ता शाहीले भने, ‘आगामी वैशाखसम्ममा पहिलो चरणको सबै काम सम्पन्न गरी मैदानलाई ट्रायल फेजमा ल्याउने लक्ष्य छ ।’ धनगढीको रिङरोडसँग जोडिएको धनगढी ओभललाई तीन चरणमा निर्माण गर्ने योजना रहेको उनी जनाउँछन् । 

पहिलो चरण पूरा भएलगत्तै मैदान सञ्चालनमा आउनेछ । दोस्रो चरणमा खेलाडी चेन्जिङ रुम, पेभिलियन, डगआउट र अभ्यासका लागि नेटहरू निर्माण गरिनेछ । तेस्रो चरणमा प्यारापिट, फ्लडलाइट तथा कफी सप निर्माण गर्ने योजना रहेको शाहीले बताए । पश्चिमतर्फ बाह्रमासे पानी बग्ने मोहना नदी रहेकाले त्यहाँ रिभर साइड विकास गर्ने अवधारणासमेत अघि सारिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष पनि रहेका शाहीले बताए । पहिलो चरणमा करिब १ करोड रुपैयाँ खर्च भइसकेको र तीनै चरण सम्पन्न हुँदा १५ करोड रुपैयाँभन्दा बढी लगानी लाग्ने अनुमान शाहीको छ ।

मैदान निर्माणको सम्पूर्ण प्राविधिक पक्ष अन्तर्राष्ट्रिय पिच क्युरेटर माधव पाठकले हेरिरहेका छन् । क्युरेटर पाठकका अनुसार मैदानको बाउन्ड्री साइज ६५ देखि ७५ मिटरभन्दा बढी छ । ‘माटो परीक्षण, मैदानको स्लोप तथा पिच निर्माण सबै अन्तर्राष्ट्रिय मापदण्डअनुसार गरिएको छ,’ पाठकले भने, ‘यस कारण यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न सकिन्छ ।’

धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) यसअघि नै बनिसकेको छ । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन पनि स्वीकृत भएर रुख कटानको काम पनि अगाडि बढ्ने तयारीमा रहेको खेलग्रामका अध्यक्षसमेत रहेका शाहीले भने । ‘अन्तर्राष्ट्रिय रंगशाला निर्माणका क्रममा र सञ्चालनपछि अभ्यासका लागि सहायक मैदानहरू आवश्यक पर्छन्,’ उनले भने, ‘निर्माणकै क्रममा पनि धनगढी ओभललाई वैकल्पिक मैदानका रूपमा प्रयोग गर्न सकिन्छ ।’ सुदूरपश्चिममा क्रिकेटप्रति छुट्टै क्रेज रहेको उल्लेख गर्दै शाहीले अर्जुन ट्रफी, डीपीएलजस्ता प्रतियोगिता तथा एनपीएलका फ्रेन्चाइज खेलाडीहरूले समेत यहाँ अभ्यास गर्न सक्ने बताए ।

छिमेकी मुलुक भारतका दिल्ली, कोलकाता, लखनउ र मुम्बईका स्थानीय टोलीहरू धनगढी क्रिकेट एकेडेमीसँग खेल्न इच्छुक रहेको जानकारी दिँदै उनले ५–६ वटा सिरिज खेलाएर यहाँका पर्यटकीय स्थल भ्रमण गराउने प्याकेज बनाउने योजना रहेको उनले सुनाए ।

टेकराज जोशी कान्तिपुरका धनगढी संवाददाता हुन्।

Link copied successfully