राष्ट्रपति रनिङ शिल्डको उपाधि बुद्ध माविलाई

प्रतियोगितामा ११ विद्यालयका ३ सय छात्रछात्रा सहभागी थिए ।

माघ २०, २०८२

प्रताप विष्ट

Buddha Secondary School wins President's Running Shield title

हेटौंडा — मकवानपुरको बकैया गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुद्ध माध्यमिक विद्यालय हात्तीसुढेले हात पारेको छ ।

वकैया गाउँपालिका–५  कर्मप्राप्ति माविको खेल मैदानमा भएको प्रतियोगितामा बुद्ध माविले १५ स्वर्ण पदक जितेर  प्रथम हुन सफल भएको हो । उसले रनिङ शिल्डसहित ५० हजार रुपैयाँ हात पारेको छ ।

बकैया खेलकुद विकास समिति र गाउँपालिकाको संयुक्त आयोजनामा संचालित उक्त प्रतियोगितामा १४ स्वर्ण पदक जितेर जनक मावि भीरकोट द्वितीय हुँदै ३० हजार रुपैयाँ नगद पाएको छ । ६ वटा स्वर्ण पदक हात पारेर कर्मप्राप्ति मावि तृतीय भएको छ । कर्मप्राप्ति माविले २० हजार रुपैयाँ प्राप्त गरेको छ । 

सोमबारदेखि संचालित उक्त प्रतियोगिताको छात्रातर्फको उत्कृष्ट खेलाडीमा दुर्गा चेपाङ र छात्रतर्फ सम्भव माझी छनोट भएका थिए । प्रतियोगितामा ११ विद्यालयका ३ सय छात्रछात्रा सहभागी थिए । प्रतियोगिताका विजयी खेलाडी र विद्यालयतलाई बकैया–५ का वडाध्यक्ष लक्ष्मी जिम्वा र ७ नम्वर वडाध्यक्ष रमेश तामाङले पुरस्कार वितरण गरेका थिए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully