एन्फा नेतृत्वको विरोधमा उपाध्यक्ष खतिवडा

उपाध्यक्ष दीपक खतिवडाले अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राईले एन्फा विधानविपरीत काम गरेको आरोप लगाउँदै नेपाली फुटबललाई दुर्घटनाको जोखिमतर्फ उन्मुख गराएको बताएका छन् ।

माघ १९, २०८२

कान्तिपुर संवाददाता

Vice President Khatiwada opposes ANFA leadership

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दीपक खतिवडाले सोमबार पत्रकार सम्मेलन गर्दै नेतृत्वको चर्को आलोचना गरेका छन् ।

उनले अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राईले एन्फा विधानविपरीत काम गरेको आरोप लगाउँदै नेपाली फुटबललाई दुर्घटनाको जोखिमतर्फ उन्मुख गराएको बताएका छन् । उनले एन्फा नेतृत्वमा बहुमतको दम्भ रहेको दाबी गरे ।

उनले एन्फा नेतृत्वलाई लगातार रचनात्मक सहयोग र सुझाव दिँदै आएको भए तापनि त्यसलाई बेवास्ता गरेको पनि बताए । उनले एन्फाको अर्ली इलेक्सन प्रक्रियाको पनि विरोध गरे । उपाध्यक्ष खतिवडाको तर्क थियो, एन्फाको विधानअनुसार चुनाव गराउने हो भने पनि सबैभन्दा पहिले जिल्लाको निर्वाचन हुनुपर्ने र त्यसपछि मात्र केन्द्रमा निर्वाचन सम्भव हुने बताए ।

उपाध्यक्ष खतिवडाले धुलिखेलमा भएको एन्फाको पछिल्लो नियमित साधारणसभाको निर्णयलाई अहिलेको नेतृत्वले बेवास्ता गरेको आरोप पनि लगाए । उनले अदालतले पनि एन्फाको निर्वाचन प्रक्रिया रोक्ने आदेश दिइसकेको स्थितिमा अगाडि बढ्दा गम्भीर स्थिति उत्पन्न हुन सक्ने पनि बताए । उनको थप आरोप थियो, एन्फाभित्र व्यक्तिगत स्वार्थ अत्यधिक रहेको छ । 

कान्तिपुर

Link copied successfully