ओलम्पिक कमिटीको अन्तरक्रिया

सातदोबाटोको ओलम्पिक भवनमा आयोजित कार्यक्रममा एनआसी अध्यक्ष जीवनराम श्रेष्ठले अबको एसियाली खेलकुदमा नेपालको सहभागिता उपलब्धिमूलक हुनुपर्नेमा जोड दिए ।

माघ १९, २०८२

कान्तिपुर संवाददाता

Olympic Committee interaction

काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जापानको आइची र नागासाकीमा हुने एसियाली खेलकुदको प्रचारमा खेलकुद पत्रकारको भूमिकाबारे अन्तरक्रिया गरेको छ ।

 सातदोबाटोको ओलम्पिक भवनमा आयोजित कार्यक्रममा एनआसी अध्यक्ष जीवनराम श्रेष्ठले अबको एसियाली खेलकुदमा नेपालको सहभागिता उपलब्धिमूलक हुनुपर्नेमा जोड दिए । 

अबको एसियाली खेलकुद सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुँदै छ । कार्यक्रमका अवसरमा अध्यक्ष श्रेष्ठले एसियाली खेलकुदको आयोजनाका लागि धेरै समय बाँकी नरहेको हुनाले यसका तयारी अझ ब्यापक र व्यवस्थित ढंगले हुनुपर्ने बताए । उनले भने, ‘नेपाली टिमको तयारीका लागि अब धेरै समय बाँकी रहेको छैन । यस तयारीमा एनओसी सबै प्रकारले सहयोग गर्न तयार छ । हामीले एसियाली खेलकुदमा सहभागी हुने केही खेलाडीलाई छात्रवृत्ति पनि प्रदान गरेका छौं ।’

अध्यक्ष श्रेष्ठले एसियाली खेलकुदको प्रचारप्रसारका लागि खेल पत्रकारको ठूलो भूमिका रहने बताए । उनले पत्रकारका लागि सहभागी हुने खेल र खेलाडीको जानकारीका लागि सूचना आदानप्रदानका लागि विशेष व्यवस्था हुने बताउँदै पत्रकारका तर्फबाट रचनात्मक सहयोगको अपेक्षा रहेको बताए । त्यस अवसरमा पत्रकारले एसियाली खेलकुदको तयारीलाई लिएर विभिन्न प्रश्न गर्दै सुझाव पनि दिएका थिए ।

यस कार्यक्रमको ठीक एक साता अगाडि श्रेष्ठ अध्यक्षको एनओसी सातदोबाटोस्थित आफ्नो भवनमा फर्केको थियो । यसअघि सरकार समर्थन ध्रुवबहादुर प्रधान नेतृत्वमा अर्को एनओसी गठन भएको थियो र त्यसले सातदोबाटोको भवनबाट आफ्नो काम सुरु गरेको थियो । तर नयाँ राजनीतिक परिवर्तनपछि त्यसले निरन्तरता पाएन । 

कान्तिपुर

Link copied successfully