गढीमाई प्रिमियर लिगको उपाधि टेढा टाइगरलाई

टस जितेर पहिले व्याटिङ गरेको टेढा टाइगरले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा गढीमाई वारियर्स १७ ओभर २ बलमा ६८ रनमै धराशायी भयो ।

माघ १८, २०८२

शंकर आचार्य

Tedha Tigers win Gadhimai Premier League title

पर्सा — वीरगन्जको हरपतगन्जमा सञ्चालित गढीमाई प्रिमियर लिग ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि टेढा टाइगरले उचालेको छ । फाइनलमा उसले गढीमाई वारियर्सलाई ५४ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

टस जितेर पहिले व्याटिङ गरेको टेढा टाइगरले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २२ रन बनायो । उसका सागर साहले २७ र राजन गुप्ताले १४ रनको उल्लेखनीय योगदान गरे ।

गढीमाइ वारियर्सका बलरहरूमा,  रोशन यादव र  कैफ अलीले दुई/दुई विकेट बाँडेका थिए । सहजजस्तै लाग्ने विजयी लक्ष्य भेट्टाउन मैदानमा ओर्लिएका गढीमाई वारियर्सका व्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न नसकेपछि गढीमाई वारियर्स १७ ओभर २ बलमा ६८ रनमै धराशायी भयो । उसका रन्जित रायले १७ र कैफ अलीले ११ रनबाहेक अन्य कसैले पनि दोहोेरो अंकमा रन बटुल्न सकेनन् ।

टेढा टाइगर्सका बलहरू दिलीप साहले तीन र अलिराजले दुई विकेट हात पारे । ‘म्यान अफ द म्याच’ टेढा टाइगर्सका सागर साह घोषित भए । ‘म्यान द सिरिज’ गढीमाई वारियर्सका रोशन यादव घोषित भए । प्रतियोगिताको उत्कृष्ट व्याट्सम्यान गढीमाई वारियर्सका साजन राय र उत्कृष्ट बलर टेढा टाइगर्सका अलीराज घोषित भए ।

विजेता र उपविजेतालाई क्रमशः ७५  हजार र ३५ हजार राशिसहित ट्रफी प्रदान गरियो । संविधानसभा सदस्य अनिल रु‌ंगटा तथा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव लगायतले पुरस्कार वितरण गरेका थिए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully