टाइगर कप फाइनलमा टोली परिवर्तन, गण्डकीसँग अब पुलिसको भिडन्त

प्रतियोगिताको उपाधि भिडन्तअघि नै टोली परिवर्तनको विषयले चर्चा पाएको भए पनि अब आयोजकले आधिकारिक रूपमा फाइनल समीकरण स्पष्ट पारेको छ ।

माघ १७, २०८२

दीपक परियार

Team change in Tiger Cup final, Police now faces Gandaki

What you should know

पोखरा — छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि भिडन्तमा अन्ततः गण्डकी प्रदेश भलिबल संघ र नेपाल पुलिस क्लब आमनेसामने हुने भएका छन् ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेल पाँचौं सेटसम्म पुगेपछि प्रारम्भिक रूपमा गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ फाइनलमा पुगेको घोषणा गरिएको थियो । तर, त्यसपछि प्राविधिक समीक्षाका क्रममा सेट रेसियोमा नेपाल पुलिस क्लब अगाडि रहेको पुष्टि भएपछि आयोजकले निर्णय सच्याएको हो ।

प्रतियोगिता आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले शुक्रबार नै प्रेस विज्ञप्ति जारी गर्दै फाइनल खेलसम्बन्धी प्रारम्भिक सूचना प्राविधिक त्रुटिका कारण गलत प्रवाह भएको स्वीकार गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, 'फाइनल खेल घोषणा गर्ने क्रममा प्राविधिक त्रुटिका कारण गलत सूचना प्रवाह हुन गएको थियो ।मिति २०८२ माघ १७ गते हुने पुरुषतर्फको फाइनल खेल गण्डकी प्रदेश भलिबल संघ र नेपाल पुलिस क्लबबीच हुने आधिकारिक जानकारी गराउँदछौं ।’ 

प्रतियोगिताको उपाधि भिडन्तअघि नै टोली परिवर्तनको विषयले चर्चा पाएको भए पनि अब आयोजकले आधिकारिक रूपमा फाइनल समीकरण स्पष्ट पारेको छ । 

यसअघि, ५ खेलबाट पुलिसले १० अंक जोडेको थियो । चार खेलबाट ९-९ अंक जोडेका गण्डकी र पर्वतको शुक्रबारको खेल ३-२ मा टुंगिएपछि गण्डकीले २ अंक थप्दै ११ अंक पुर्‍याएर लिग तालिकाको शीर्ष स्थानमा पुग्दै फाइनल सुनिश्चित गर्‍यो । पर्वतले एक अंक थप्दै १० पुर्‍याएपछि सेटका आधारमा पुलिसलाई पाखा लगाउदै फाइनलमा पुगेको बताइएको थियो । तर पुलिसले सेट रेसियोको आधारमा आफ्नो टिम फाइनलमा पुगेको दाबी गरपछि आयोजकले गल्ती सच्याएको हो ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully