साफ यू–१९ महिला च्याम्पियनसिप: भारतसँग नेपाल १–० ले पराजित

सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा अब नेपालले आफ्नो दोस्रो खेलमा सोमबार भुटानको सामना गर्नेछ।

माघ १७, २०८२

दीपक परियार

SAFF U-19 Women's Championship: Nepal loses 1-0 to India

पोखरा — पोखरा रंगशालामा शनिबारदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा आयोजक नेपाल भारतसँग १–० ले पराजित भएको छ ।

खेलको ४९ औं मिनेटमा भारतकी पर्ल फर्नान्डेजले गरेको एकमात्र गोल नै निर्णायक सावित भयो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुआतमै रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै भारतले अग्रता लिएको थियो । खेल अवधिभर भारतले बलमाथि पकड जमाउँदै घरेलु टोली नेपाललाई दबाबमा राखेको थियो ।

सुशीला केसीकाे कप्तानीमा मैदानमा उत्रिएकाे नेपालले केही सिमित अवसर सिर्जना गरे तापनि गोल गर्न भने सकेन। दोस्रो हाफमा भारतीय टोलीले केही महत्त्वपूर्ण परिवर्तनहरू गर्दै खेललाई आफ्नो नियन्त्रणमा राखेको थियो।

प्रशिक्षक सुमन श्रेष्ठको नेतृत्वमा मैदान उत्रिएको नेपाली टोलीले आफ्नो घरेलु मैदान र दर्शकको साथ पाए पनि नतिजा आफ्नो पक्षमा पार्न सकेन। खेलमा भारतले रक्षात्मक र आक्रामक दुवै पक्षमा सन्तुलित प्रदर्शन गरेको थियो। भारतले यस प्रतियोगितामा आफ्नो यू–१७ टोलीलाई सहभागी गराएको छ, जुन आगामी एएफसी यू–१७ महिला एसियन कपको तयारीको रूपमा रहेको छ ।

च्याम्पियनसिप अन्तर्गत शनिबार नै भएको उद्घाटन खेलमा साविक विजेता बंगलादेशले भुटानलाई १२–० को भारी गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन भइरहेको यस प्रतियोगितामा अब नेपालले आफ्नो दोस्रो खेलमा सोमबार भुटानको सामना गर्नेछ। सोमबारको पहिलो खेल बंगलादेश र भारतबीच हुने छ । २४ माघमा उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully