साफ यू-१९ महिला च्याम्पियनसिप : भुटानविरुद्ध बंगलादेशको दर्जन गोल

दोस्रो हाफमा पनि खेलमा फर्कने भुटानको कुनै संकेत देखिएन, गोलको वर्षा भइरह्यो ।

माघ १७, २०८२

दीपक परियार

SAFF U-19 Women's Championship: Bangladesh scores a dozen goals against Bhutan

पोखरा — पोखरा रंगशालामा शनिबारदेखि सुरु साफ यू-१९ महिला च्याम्पियनसिप २०२६ को पहिलो खेलमै बंगलादेशले भुटानविरुद्ध शक्तिशाली प्रदर्शन गर्दै १२-० ले जित हात पारेको छ ।

समूह चरणको पहिलो खेलमा बंगलादेशले सुरुदेखि अन्त्यसम्म आक्रामक फुटबल खेल्दै भुटानलाई पूर्ण रूपमा दबाबमा राख्यो । खेलको समग्र प्रवाह हेर्दा भुटान डिफेन्समै सीमित देखियो भने बंगलादेशले निरन्तर गोल अवसरहरू सिर्जना गरिरह्यो।  

खेलको सुरुआतदेखि नै बल नियन्त्रण, पास संयोजन र विंग प्रयोगमा बंगलादेश स्पष्ट रूपमा हाबी देखियो । पहिलो गोलका लागि धेरै कुर्नुपरेन। २८औं मिनेटमा मामोनी चाक्माले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । त्यसपछि बंगलादेशको लय झन् चर्कियो ।

४३औं मिनेटमा श्रीमोती तृष्णा रानीले गोल थपिन् । त्यसको ठीक एक मिनेटपछि ४४औं मिनेटमा मोस्ट मुन्की अख्तरले स्कोर फराकिलो बनाइन् । पहिलो हाफको इन्ज्युरी टाइममै पुनः मुन्की अख्तरले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई आरामदायी स्थितिमा पुर्‍याइन् । पहिलो हाफ सकिँदा खेलको नियन्त्रण र स्कोर दुवै बंगलादेशकै पोल्टामा थियो।  

दोस्रो हाफ सुरु भएपछि पनि खेलको स्वरूप बदलिन सकेन । ५४औं मिनेटमा तृष्णा रानीले फेरि जाली चुमाउँदै आफ्नो प्रभाव बढाइन् । ६०औं मिनेटमा उनले ह्याट्रिक पूरा गरिन्, जसले भुटानी रक्षापंक्तिलाई पूर्ण रूपमा विघटन गर्‍यो ।

७३औं मिनेटमा अल्पी अख्तरले गोल थप्दा खेल पूर्ण रूपमा एकतर्फी बन्यो । अन्तिम १० मिनेट झन् बंगलादेशका लागि उत्सवजस्तै बन्यो । ८१औं मिनेटमा मुन्की अख्तरले ह्याट्रिक पूरा गरिन् । इन्ज्युरी टाइम (९०+३) मा फेरि मुन्की अख्तरले गोल थप्दै व्यक्तिगत गोल संख्या ४ पुर्‍याइन् ।

इन्ज्युरी समयमै अर्पिता विश्वासले अर्को गोल गरिन् । अल्पी अख्तरले ह्याट्रिक पूरा गर्दै स्कोरलाई दोहोरो अंकतिर धकेलिन् । यसरी दोस्रो हाफमा पनि गोलको वर्षा जारी रह्यो र भुटान खेलमा फर्कने कुनै संकेत देखिएन।  

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully