१२ जना प्रतियोगीलाई पछि पार्दै नेपालीले १५ किलोमिटर साइकलयात्रा १ घण्टा ६ मिनेट ४२ सेकेण्डमा पूरा गरेका थिए।
What you should know
पाल्पा — पाल्पाको रानीमहलदेखि तानसेनस्थित पाल्पा दरबार संग्रहालयसम्म सम्पदादेखि सम्पदा उकालो साइक्लिङ चुनौती प्रतियोगिता शनिबार सम्पन्न भएको छ।
४५ वर्षमूनि र ४५ वर्षमाथिकालाई प्रतिस्पर्धामा सहभागी गराइएको थियो। प्रतिस्पर्धाको १६ वर्षदेखि ४५ वर्ष उमेर समूहमा रुपन्देही बुटवलका निश्चल नेपाली पहिलो भए।
१२ जना प्रतियोगीलाई पछि पार्दै नेपालीले १५ किलोमिटर साइकलयात्रा १ घण्टा ६ मिनेट ४२ सेकेण्डमा पूरा गरेका थिए। दोस्रो भएका रुपन्देहीकै निरज चौधरीले १ घण्टा ७ मिनेट २७ सेकेण्डमा दुरी पूरा गरे ।
पाल्पा तानसेन बारुदखानका दिलीप जीसीले १ घण्टा १७ मिनेट ३६ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएको पाल्पा जिल्ला साइक्लिङ संघका सचिव विज्ञान बज्राचार्यले जानकारी दिए । पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २० हजार, १० र ५ हजार नगद पुरस्कार प्रदान गरियो।
४५ वर्ष उमेर समूह पूरा गरेकाहरुबाट पाल्पा तानसेनका सेते लामा तामाङ पहिलो भए। १३ प्रतियोगीलाई पछि पार्दै उनले १ घण्टा १९ मिनेटमा निर्धारित दुरी पार गरेका हुन् । दोस्रो भएका रुपन्देही बुटवलका नारायण श्रेष्ठले १ घण्टा २१ मिनेट २६ सेकेण्ड लगाए भने पाल्पाकै कृष्णबहादुर सिंजालीले १ घण्टा २५ मिनेट ५६ सेकेण्डमा दुरी पूरा गरेको संघका उपाध्यक्ष अमनकाजी शाक्यले बताए। प्रतियोगितामा सबैभन्दा कम उमेरका रुपन्देहीका १६ वर्षीय निरज चौधरी र सबैभन्दा धेरै उमेर ५४ वर्षीय जनकलाल राना सहभागी भएका थिए ।
पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १०, ५ र ३ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजक पाल्पा जिल्ला साइक्लिङ संघका अध्यक्ष रुपेश महर्जनले बताए। प्रतियोगिता आयोजना गर्न पाल्पा जिल्ला साइक्लिङ संघलाई तानसेन पर्यटन समिति (ट्याक्ट) का साथै विभिन्न सहयोगी संघसंस्था, फर्मले सहयोग गरेका थिए।
प्रतियोगितामा विजयीलाई तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, संघका अध्यक्ष रुपेश महर्जन, तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, लुम्बिनी खेलकुद परिषद् सदस्य राजु महर्जन, तानसेन ६ का वडाध्यक्ष सागरमान महर्जनलगायतले पुरस्कार वितरण गरे।
नगरप्रमुख श्रेष्ठले तानसेनको पर्यटन विकासका लागि पाल्पा जिल्ला साइक्लिङ संघले राखेका यस्ता प्रतियोगिता महत्त्वपूर्ण हुने बताए । ‘पाल्पा हावापानी राम्रो छ, त्यसैले यस्ता प्रतियोगिता आयोजना गर्न जुनसुकै समयमा सकिन्छ,’ उनले भने, ‘यहाँको पर्यटन प्रवर्द्धन हुने खालका प्रतियोगिता, प्रतिस्पर्धा र कार्यक्रमलाई नगरपालिका जहिलेसुकै सहयोग गर्न तयार छ ।’
तानसेन पर्यटन समितिका संयोजक तथा वडाध्यक्ष सागरमान महर्जनले पाल्पा जिल्लामै पहिलो पटक ‘अपहिल’ साइक्लिङ प्रतियोगिता आयोजना गरेकाले आगामी दिनमा हुने प्रतियोगिताले रेकर्ड ब्रेकका लागि पनि महत्वपूर्ण भएको बताए।
