न्यु डायमन्ड बन्यो टाइगर कप च्याम्पियन

प्रतिभा मालीको उपस्थितिमा न्यु डायमन्ड स्पोर्ट्स क्लब छैटौं टाइगर कप भलिबलको उपाधि जित्न सफल

माघ १७, २०८२

दीपक परियार

New Diamonds become Tiger Cup champions

What you should know

पाेखरा — एक सेट पनि नगुमाई टिपटप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । 

न्यु डायमन्डले शुक्रबार महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लबलाई हराएर पहिलोपल्ट टाइगर कप भलिबलमा च्याम्पियन बनेको हो । फाइनलसम्म ५ खेल खेलेको न्यु डायमन्ड हरेक खेलमा प्रतिस्पर्धीलाई सोझो सेटमा हराउन सफल भयो । 

पोखरा रंगशालामा शुक्रबार न्यु डायमन्डले २५–११, २५–२२, २५–१६ ले सेट जितेको थियो । एक महिनाबीच पुलिस र न्यु डायमन्ड तेस्रो पटक फाइनल भिडेका हुन् । तीनपल्ट नै पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन बनेको छ । गत महिना काठमाडौंमा न्यु डायमन्डले एनभीए च्याम्पियनसिप र केएनपी राष्ट्रिय महिला भलिबलमा पुलिसलाई हराएको छ । 

यसअघि चौथो टाइगर कपमा न्यु डायमन्ड फाइनलमा एपीएफसँग पराजित हुँदै उपविजेतामै रोकिएको थियो । स्टार खेलाडी प्रतिभा माली अस्ट्रेलियाबाट फर्किएर टिममा समावेश भएपछि न्यु डायमन्ड उपाधि लयमा फर्केको थियो । उनकै उपस्थितिमा न्यु डायमन्डले पछिल्लो तीन उपाधि जितेको छ । 

पुलिससँगको फाइनलमा न्यु डायमन्डले ब्लकिङलाई प्राथमिकता दिएर खेल्यो । फलस्वरुप आफ्नो रणनीतिमा सफल भयो । उत्कृष्ट प्रदर्शन गरिरहेकी पुलिसकी स्पाइकर मीना सुनार फाइनलमा चल्नै सकिनन् । अनुभवी खेलाडी कमला पुन, पुनम चन्द, कामना विष्ट, एलिसा मानन्धर, कोपिला राना लगायत खेलाडी लिएर उत्रिएको पुलिसको फाइनल प्रदर्शन फितलो रह्यो । 

न्यु डायमन्डका प्रशिक्षक कुमार राईले पुलिसलाई स्पाइक हान्न नदिने रणनीतिमा टिम सफल हुँदा उपाधि जित्न सफल भएको बताए । मिडल ब्लकर सुमित्रा रेग्मी र सुनिता खत्रीले पुलिसको स्पाइक ब्लक गरिरहे । प्रतियोगिताभर न्यु डायमन्डले विपक्षीको स्पाइक ब्लक गर्ने र काउन्टर स्पाइक गर्ने रणनीतिमा खेलेको थियो । 

प्रतिभा माली टिममा आएपछि सोचेअनुसार खेल राम्रो भएको प्रशिक्षक राईले बताए । ‘एक सेट नगुमाई हरेक खेल सोझो सेट जितेर च्याम्पियन हुनु हाम्रा लागि ऐतिहासिक उपलब्धि हो,’ उनले भने, ‘पोखरेली दर्शकको मायाले पनि हौसला मिल्यो ।’ 

एक सातापछि प्रतिभा पुनः अस्ट्रेलिया फर्किने भएकाले आगामी एनभीए लिगलाई अरू खेलाडी तयार रहेको उनको भनाइ थियो । 

प्रतिभाले आफू यही तीन प्रतियोगिता खेल्न नेपाल आएको र उपाधि जित्ने लक्ष्य सफल भएको स्पष्ट पारिन् । टाइगर कपमा टिमका सबै खेलाडी र प्रशिक्षकको उत्तिकै मिहिनेतले उपाधि जित्न सफल भएको उनको भनाइ थियो । ‘अब मविना पनि टिम बलियो भएको छ,’ उनले भनिन्, ‘विपक्षीले स्कोर लिड गर्दै जाँदा नयाँ खेलाडी आत्तिने बानी हुन्छ, त्यो पनि सुध्रिँदै जानेछ ।’ उनले आफू अध्ययनको लागि अस्ट्रेलिया गए पनि पूर्ण रूपमा भलिबल नछाडेको बताइन् । भनिन्, ‘खेल हुने बेलामा समय मिलाएर आइरहन्छु ।’ 

च्याम्पियन न्यु डायमन्डले ६ लाख ६६ हजार ६ सय ६६ र उपविजेता पुलिसले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार पाए । तेस्रो स्थानमा रहेको थाइल्यान्ड क्विन्सले २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ पायो । विजेता खेलाडीलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलगायतले पुरस्कृत गरे । 

सुमित्रा सर्वोत्कृष्ट 

न्यु डायमन्डकी मिडल ब्लकर सुमित्रा रेग्मी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले २६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरिन् । उनले टिमको सहकार्य र प्रशिक्षकको मिहिनेतले उपाधि जितेको बताइन् । ‘सबैले राम्रो खेलेका थियौं, अझै सोचे जस्तो भएको छैन,’ उनले भनिन्, ‘प्रतिभा दिदी आएपछि मोरल हाइ भएकाले पनि लगातार जित हात पार्‍यौं ।’

विधागत उत्कृष्टमा पनि न्यु डायमन्डकै वर्चस्व रह्यो । उत्कृष्ट सर्भर प्रतिभा माली, उत्कृष्ट सेटर प्रगति नाथ, उत्कृष्ट ब्लकर सुनिता खत्री र उत्कृष्ट प्रशिक्षक कुमार राई घोषित भए । पुलिसकी शान्तिकला तामाङ उत्कृष्ट लिबेरो र थाइल्यान्ड क्विन्सकी पट्टिया जुआङगियन उत्कृष्ट स्पाइकर चुनिए । उनीहरूले जनही ११ हजार ६ सय ६६ रुपैयाँ पाए ।

काभाका लागि पुलिस टिमलाई बिदाइ

माल्दिभ्समा हुने काभा महिला भलिबल च्याम्पियनसिपमा भाग लिन जाने नेपाल पुलिस क्लबको टिमलाई पोखराबाट बिदाइ गरिएको छ । नेपाल भलिबल संघले टाइगर कप आयोजनास्थलबाटै टोलीलाई जितको शुभकामनासहित बिदाइ गरेको हो । 

संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, काभाका अध्यक्ष मोहम्मद लतिफ, टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मालगायतले बिदाइ गरे । अध्यक्ष चन्दले नेपाली क्लबले अन्तर्राष्ट्रिय खेल मैदानमा उत्कृष्ट प्रदर्शन गर्नेमा आफू आशावादी रहेको जनाए । पुलिस शनिबार माल्दिभ्सतर्फ जानेछ ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully