सीईसीद्वारा बीसीसी पराजित

टस जितेर ब्याटिङ गरेको सीईसी तल्लो मूलपानी क्रिकेट मैदानमा ४६.४ ओभरमा २ सय ३६ रनमा अलआउट भयो ।

माघ १७, २०८२

कान्तिपुर संवाददाता

BCC defeated by CEC

काठमाडौँ — भक्तपुर क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) ले प्रधानमन्त्री कपको भक्तपुर जिल्ला छनोट क्रिकेटमा शनिबार भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) लाई १ सय ४५ रनले हरायो । सीईसीले तेस्रो खेलमा पहिलो विजय पाएको हो ।

टस जितेर ब्याटिङ गरेको सीईसी तल्लो मूलपानी क्रिकेट मैदानमा ४६.४ ओभरमा २ सय ३६ रनमा अलआउट भयो । इन्जमाम उल हकले ६१ रन बनाए । उनले १ सय ३ बलमा ७ चौका र १ छक्का प्रहार गरे । कप्तान शिवम तिवारीले ३५ बलमा समान ३ चौका र छक्कासहित ४९, पवनराज सिग्देलले ४८ बलमा ४ चौकासहित ४२, ओपनर श्रीजल धामीले ३८ बलमा ७ चौकासहित ३९ र रोबिन भाटले १४ रन बनाए ।

बीसीसीका कृष्ण मालासीले ८.४ ओभरमा ४९ र कप्तान विनोद तामाङले १० ओभरमा ५२ रन खर्चेर ३–३ विकेट लिए । पृथक गुरागाईंले ५ ओभरमा ३३ रन खर्चेर २ तथा विशाल साह कानु र लोकेशसिंह पालले १–१ विकेट लिए ।

जबाफमा बीसीसी २०.३ ओभरमा ९१ रनमा अलआउट भएपछि तीन खेलमा दोस्रो हार बेहोर्न पुग्यो । प्रियांशु झाले २७ बलमा ३ चौकासहित २२ र राजवीर श्रेष्ठले ४५ बलमा १४ रन बनाए । सीईसीका अंकित जोशी र कप्तान शिवमले समान ४ रनमात्र खर्चेर ३–३ विकेट लिए । हर्क रोकाया, आशिष अधिकारी र योगेन्द्र खड्काको नाममा १–१ विकेट रह्यो ।

कान्तिपुर

Link copied successfully