दुईदिने प्रतियोगिताका खेल धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको हातामा खेलाइने छ ।
काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना र काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ गते हुने भएको छ ।
विश्वविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजकसमेत रहेका राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई र काठमाडौं विश्वविद्यालयअन्तर्गत विद्यार्थी कल्याण निर्देशनालयका कामु निर्देशक गोकुल केसीले सम्झौता पत्र आदान–प्रदान गरे ।
प्रतियोगितामा ५ खेलको प्रतिस्पर्धा हुनेछ । टेबलटेनिसमा ४, ब्याडमिन्टनमा ४, बास्केटबलमा २, एथलेटिक्समा ६ र भलिबलमा १ स्वर्णका लागि प्रतिस्पर्धा हुने समितिका सचिव एवं खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जनाएका छन् । भलिबलमा छात्रतर्फ मात्र प्रतिस्पर्धा हुनेछ ।
शर्माका अनुसार प्रतियोगतामा २ सय ७९ खेलाडी सहभागी हुने छन् । दुईदिने प्रतियोगिताका खेल धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको हातामा खेलाइने छ ।
