न्यु डायमन्डलाई एनसेल छैटौं टाइगर कपको उपाधि

सुमित्रा रेग्मी सर्वोत्कृष्ट खेलाडी

माघ १६, २०८२

दीपक परियार

New Diamond wins Ncell's sixth Tiger Cup title

What you should know

पोखरा — विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै न्यु डायमन्ड स्पोर्ट्स क्लबले एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार सम्पन्न फाइनल खेलमा न्यु डायमन्डले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । न्यु डायमन्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ को स्कोरमा जित हासिल गर्‍यो ।

च्याम्पियन बनेको न्यु डायमन्डले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता पुलिसले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ हात पार्‍यो । तेस्रो स्थानमा रहेको थाइल्यान्ड क्विन्सले २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ पायो ।

न्यु डायमन्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले २६ हजार ६ सय ६६ रुपैयाँप्राप्त गरिन् । विधागत उत्कृष्ट खेलाडीमा सर्भर प्रतिभा माली, लिभेरो शान्तिकला तामाङ, सेटर प्रगति नाथ, ब्लकर सुनिता खत्री र स्पाइकर पथैया रहे । प्रशिक्षक कुमार राई उत्कृष्ट प्रशिक्षक बने । उनीहरुले जनही ११ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार पाए ।

पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबीच हुँदैछ । यस खेलको नतिजाले फाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ । हाल अंक तालिकामा ५ खेलबाट पुलिसको १० अंक छ भने समान ४ खेल खेलेका गण्डकी र पर्वतको समान ९–९ अंक छ ।

शुक्रबारको खेलमा स्पष्ट ३ अंक जोड्ने टोली सिधै फाइनल पुग्नेछ भने खेल पाँचौं सेटसम्म लम्बिएमा सेट गणनाका आधारमा फाइनल टोली तय गरिनेछ । पुरुषतर्फको फाइनल खेल शनिबार हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालित प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीको सहभागिता रहेको थियो । 

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully