राष्ट्रिय लिगमा मिलनको ह्याट्रिक

उनकै प्रदर्शनप्रेरित चर्च ब्वाइज युनाइटेडले नव जनजागृति युवालाई ६–१ ले पराजित गरेको थियो ।

माघ १६, २०८२

कान्तिपुर संवाददाता

Milan's hat-trick in the national league

What you should know

काठमाडौँ — राष्ट्रिय लिग फुटबलमा बिहीबार प्रतियोगिताले पहिलो ह्याट्रिक हेर्ने अवसर पायो । यो प्रदर्शनका नायक रहे, मिलन राई ।

उनकै प्रदर्शनप्रेरित चर्च ब्वाइज युनाइटेडले नव जनजागृति युवालाई ६–१ ले पराजित गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मिलनले चर्च ब्वाइजका लागि २०, ४१ र ६१ औं मिनेटमा गोल गरे । मीठो संयोग के रह्यो भने उनको तेस्रो तथा ह्याट्रिक गोल नै प्रतियोगिताको सय गोल पनि थियो । 

चर्च ब्वाइजले तेस्रो मिनेटमै अबायोनी फकुन्लेको गोलमा अग्रता लिएको थियो । खेलले आठौं मिनेट छुँदा एरिक विष्टले दोस्रो गोल थपे र प्रतिस्पर्धा पूर्णतः एकपक्षीय रूपमा चर्च ब्वाइजको पक्षमा मोडियो । फकुन्लेले ३१ औं मिनेटमा आफ्नो दोस्रो गोल पनि पूरा गरे । नव जनजागृतिका लागि जोनाथन बोएरले ८१ औं मिनेटमा एक गोल फर्काए । यो टोलीका लागि सान्त्वनाभन्दा बढी केही रहेन । चर्च ब्वाइजको लगातार दोस्रो जितपछि ७ अंक भएको छ । नव जनजागृति भने लगातार चौथो हारपछि अंकविहीन रह्यो । 

बिहीबारको पहिलो खेलमा एनआरटीले संकटालाई ३–१ ले हरायो । ऐतिहासिक रूपमा पारम्परिक प्रतिद्वन्द्वी रहेका दुई टिमबीचको खेल केही हदसम्म तनावपूर्ण रह्यो र खेलको अन्त्यमा दुवै टिम १० खेलाडीमा सीमित रहेको थियो । एनआरटीले २४ औं मिनेटमा दोस्रो पहेँलो कार्डमा ताये डानियललाई गुमाएको थियो । खेल ८६ औं मिनेटमा दोहोरो पहेँलो कार्डमै संकटाका टिमोथी चिमेरी बाहिरिए ।

एनआरटीले कप्तान कृतिशरत्न छुन्जुको गोलमा ११ औं मिनेटमा अग्रता लिएको थियो । वेन्डपान्गाले ५१ औं मिनेटमा आत्मघाती गोल गरेपछि एनआरटीले दुई गोलले अगाडि रह्यो । संकटाका तर्फबाट कृष्णबहादुर आलले ५६ औं मिनेटमा एक गोल फर्काए । तर लगत्तै ६७ औं मिनेटमा टिमोथी चिमेरीले एनआरटीका लागि तेस्रो गोल गर्दै जित निश्चित गरे । एनआरटीको लगातार चौथो जितपछि १२ अंक भएको छ । संकटा लगातार दोस्रो हारले ५ अंकमै सीमित रह्यो । 

कान्तिपुर

Link copied successfully