कस्तुरी कप अन्तरविद्यालय क्रिकेटको उपाधि जनतालाई 

इटहरीस्थित जनता क्रिकेट खेल मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा नेपाल डीभिएम ग्लोबल स्कुललाई ४ विकेटले पराजित गर्दै जनताले उपाधि जितेको हो ।

माघ १६, २०८२

अर्जुन सुवेदी

Kasturi Cup inter-school cricket title goes to the people

What you should know

सुनसरी — दोस्रो कस्तुरी कप अन्तरविद्यालय क्रिकेटको उपाधि इटहरीको जनता माविले जितेको छ । 

इटहरीस्थित जनता क्रिकेट खेल मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा नेपाल डीभिएम ग्लोबल स्कुललाई ४ विकेटले पराजित गर्दै जनताले उपाधि जितेको हो । टस जितेर पहिले ब्याटिङ गरेको डीभीएमले घरेलु मैदानमा निर्धारित १० ओभरको खेलमा ४ विकेट गुमाउँदै ६३ रनको सामान्य योगफल बनाएको थियो । डीभीएमका लागि दिवस विष्टले सर्वाधिक २२ रन बनाए । रिवाज बोहराले १९ रन जोडे । 

जवाफमा ६४ रनको विजयी लक्ष्य जनताले ९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । जनताका प्रबिन मण्डल २८ र सुन्दर राई १३ रनमा अविजित रहे । डीभीएमका आदित्य पौडेलले हृयाट्रिकसहित महत्त्वपूर्ण ३ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । 

आदित्य प्लेयर अफ द फाइनल बने । विजेता जनताले नगद ३० हजार र उपविजेता डीभीएमले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी डीभीएमका दिवस विष्ट घोषित भए । प्रतियोगिताभर उनले ६० रन बनाउनुका साथै ६ विकेट लिएका थिए । बेष्ट बलर जनताका प्रबिन मण्डल भए । उनले ४ खेलमा जम्मा ९ विकेट हात पारेका थिए । बेष्ट ब्याटर ग्रिनपिस एकेडेमीका रबिन खत्री भए । ३ खेलमा उनले १ सय १७ रन बनाएका थिए । उदीयमान खेलाडी डीभीएमका आदित्य पौडेल घोषित भए । 

विजेता तथा उपविजेता खेलाडीहरुलाई सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेल, उपाध्यक्ष सञ्जीव ढुंगाना, कस्तुरी कलेजका प्राचार्य कमलेश शर्मा पौडेललगायतले पुरस्कार वितरण गरे । विद्यालयस्तरमै क्रिकेट प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सुनसरी र मोरङका विभिन्न २१ विद्यालयको सहभागिता रहेको थियो । 

प्रतियोगिता सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा माघ १० देखि १६ गते शुक्रबारसम्म सञ्चालन भएको हो ।

अर्जुन सुवेदी

Link copied successfully