आयरल्यान्ड र अमेरिकाको महिला ट्वान्टी–२० विश्वकप सम्भावना

मूलपानीको माथिल्लो क्रिकेट मैदानमा आयरल्यान्डले प्रतियोगिताको अपराजित टोली नेदरल्यान्ड्सलाई कुनै मौका दिएन ।

माघ १६, २०८२

कान्तिपुर संवाददाता

Ireland and USA Women's Twenty20 World Cup Probability

What you should know

काठमाडौँ — आयरल्यान्ड र अमेरिकाले आईसीसी महिला ट्वान्टी–२० विश्वकपमा पुग्ने सम्भावना बलियो बनाएका छन् ।

शुक्रबार यहाँ भइरहेको विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा आयरल्यान्डले नेदरल्यान्ड्सलाई ४५ रन र अमेरिकाले थाइल्यान्डलाई २८ रनले हराए ।

मूलपानीको माथिल्लो क्रिकेट मैदानमा आयरल्यान्डले प्रतियोगिताको अपराजित टोली नेदरल्यान्ड्सलाई कुनै मौका दिएन । शुक्रबारको नतिजापछि बंगलादेशको ८, नेदरल्यान्ड्सको ६, आयरल्यान्ड र स्कटल्यान्डको ४–४, अमेरिकाको २ अंक छ । थाइल्यान्ड अंकविहीन छ ।

प्रतियोगिताको शीर्ष चार टोली जुन–जुलाईमा इंग्ल्यान्ड र वेल्समा हुने महिला ट्वान्टी–२० विश्वकपमा छनोट हुने प्रावधानमा बंगलादेश र नेदरल्यान्ड्सलाई स्थान सुरक्षित गरिसकेका छन् । बाँकी दुई स्थानका लागि आयरल्यान्ड, स्कटल्यान्ड र अमेरिकाबीच साँघुरो प्रतिस्पर्धा हुने भएको छ । आइतबार अन्तिम दिनको खेलमा आयरल्यान्डले विश्वकप दौडबाट बाहिरिसकेको थाइल्यान्ड, बंगलादेशले नेदरल्यान्ड्स र स्कटल्यान्डले अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

Ireland and USA Women's Twenty20 World Cup Probability

निकै महत्त्वपूर्ण खेलमा आयरल्यान्डले पहिला ब्याटिङ गरी निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४३ रन बनाएको थियो । लेह पाउलले २४ बलमा ६ चौकासहित सर्वाधिक ३९ रन बनाइन् । ओपनर एमी हन्टरले ३१ बलमा ३ चौका र १ छक्कासहित ३४, कप्तान गाबी लुइसले २० रन बनाए । नेदरल्यान्ड्सका हनाह लन्धिरले ३ र क्यारोलिन डी ल्याङ्गेले २ विकेट लिए ।

समूह चरणको चारै खेल जित्नुका साथै सुपर सिक्सको अघिल्लो खेल जित्दै विश्वकपमा सुरक्षित भइसकेको नेदरल्यान्ड्स जवाफमा १४.५ ओभरमा ४५ रनमै अलआउट भयो । ओपनर आयरिस जेवलिङले १० रनबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । आयरल्यान्डबाट ओर्ला प्रेन्डरगास्ट र जेन मागुएरले ३–३ तथा लारा म्याकब्रिजले २ विकेट लिए ।

मूलपानीमै भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको अमेरिका १९.५ ओभरमा १ सय २८ रनमा अलआउट भयो । पूजा गणेश २५ बलमा ३ चौकासहित ३५ रनमा अविजित रहिन् । चेतना पागिदयाला र तारा नोरिसले समान १८ रन जोडे । थाइल्यान्डकी ओनिचा कामचोम्फुले १६ रन खर्चेर ३ तथा फन्निता माया, थिप्ताचा पुथ्थावोङ र सुनिदा चतुरोङरातानाले २–२ विकेट लिए ।

सबै खेल जितेर उपाधि नजिक पुगेको बंगलादेशले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा भएको खेलमा स्कटल्यान्डलाई ९० रनले पराजित गर्‍यो । टस जितेको बंगलादेशले ५ विकेट गुमाई १ सय ९१ रन बनाएको थियो । कप्तान निगार सुल्ताना ५६ रनमा अविजित रहिन् । उनले ३५ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरिन् । शोभाना मोस्टारीले २३ बलमा ७ चौका र २ छक्कासहित ४७, ओपनर दिलारा अक्तरले २८ बलमा ६ चौका र १ छक्कासहित ३९ रन बनाए ।

जबाफमा स्कटल्यान्डले ९ विकेट गुमाई १ सय १ रनमात्र बनाउन सक्यो । पिपा स्प्रोउल २७ रनमा अविजित रहिन् । मेगान म्याकोलले २२ बलमा २ चौकासहित २० रन बनाइन् । बंगलादेशकी मारुफा अक्तरले ३ र शोर्ना अक्तरले २ विकेट लिए ।

कान्तिपुर

Link copied successfully