व्यास नगर अल्ट्रा म्याराथन उपाधि सेनाका रावलले जिते

व्यासको मानहुकोटदेखि पुलिमराङसम्मको ४४ किलोमिटर दुरी २ घण्टा ४८ मिनेट २७ सेकेन्डमा पार गर्दै सेनामा कार्यरत बझाङका रावल उपाधि जित्न सफल भएका हुन् ।

माघ १६, २०८२

सम्झना रसाइली

Army's Rawal wins Vyas Nagar Ultra Marathon title

तनहुँ — व्यास नगरपालिकाले आयोजना गरेको आठौं व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि नेपाली सेनाका धावक करन रावलले जितेका छन् ।

व्यासको मानहुकोटदेखि पुलिमराङसम्मको ४४ किलोमिटर दुरी २ घण्टा ४८ मिनेट २७ सेकेन्डमा पार गर्दै सेनामा कार्यरत बझाङका रावल उपाधि जित्न सफल भएका हुन् । प्रतियोगितामा नेपाली सेनाकै धावकहरु रामेछापका तिलकबहादुर सुनुवार द्वितीय र रामेछापका होमलाल श्रेष्ठ तृतीय हुन सफल भएका छन् ।

४२ जना धावकको सहभागिता रहेको म्याराथन मानुङकोट सिद्धमार्ग हुँदै अलैंचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास–८ पुलिमराङमा पुगेर सकिएको थियो ।

नगरपालिकाले प्रतियोगितामा प्रथम हुनेलाई ८५ हजार ८२ रुपैयाँ, द्वितीयलाई  ६५ हजार ८२ रुपैयाँ, तृतीयलाई ५५ हजार ८२ रुपैयाँ, सान्त्वना हुने पाँच जनालाई जनही १६ हजार ८२ रुपैयाँ नगदबाट पुरस्कृत गरेको छ ।

मगर र गुरुङ समुदायको गाउँलाई खेल पर्यटनमार्फत जोड्ने उद्देश्यसहित व्यास नगरपालिकाले यो प्रतियोगिता गर्दै आएको छ ।

मगर समुदायको बसोबास रहेको मानुङकोट र गुरुङ समुदायको बसोबास रहेको शहीदभूमि पुलिमराङ जोड्ने ४४ किलोमिटर अल्ट्रा म्याराथनले नगरपालिकाका छ वडालाई समेट्ने नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

प्रत्येक वर्ष हुँदै आएको म्याराथन प्रतियोगिताले दुई पर्यटकीय गाउँको विकासमा सहयोग पुगेको नगरप्रमुख न्यौपानेले बताए । उनले भने, ‘यो एउटा खेलकुद मात्र नभई नगरको पर्यटन प्रबर्द्धन र विकासको अभियान पनि हो ।’

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully