टाइगर कपको विभागीय डर्बीमा आर्मीलाई सफलता

पुरुषतर्फको प्रतीक्षित विभागीय डर्बीमा एपीएफ क्लबलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पन्छाउँदै आर्मीले महत्त्वपूर्ण जित निकालेको हो ।

माघ १६, २०८२

दीपक परियार

Army wins Tiger Cup divisional derby

What you should know

पोखरा — पोखरामा जारी एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा बिहीबार त्रिभुवन आर्मी क्लब र थाइल्यान्ड क्विन्सले रोमाञ्चक जित हात पारेका छन् । 

पुरुषतर्फको प्रतीक्षित विभागीय डर्बीमा एपीएफ क्लबलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पन्छाउँदै आर्मीले महत्त्वपूर्ण जित निकालेको हो । आर्मीले एपीएफलाई पराजित गर्दा खेल निकै उतारचढावपूर्ण रह्यो । पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो र तेस्रो सेट क्रमशः २२–२५, २१–२५ ले गुमाउन पुगेको थियो ।

तर, चौंथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै आर्मीले २५–१७ को जित निकालेपछि खेल निर्णायक पाँचौं सेटमा धकेलियो । अन्तिम सेटमा १८–१६ को रोमाञ्चक स्कोरसहितथ आर्मीले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

यो जितसँगै आर्मी र एपीएफ दुवैको समान ७ अंक भएको छ । यद्यपि सेट स्कोरका आधारमा अगाडि रहँदै आर्मीले अब तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ । यसअघि पुरुषतर्फकै नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसिएसनलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना जीवितै राखेको छ ।

अंकतालिकामा ५ खेलबाट पुलिसको १० अंक छ भने समान ४ खेल खेलेका गण्डकी र पर्वतको ९–९ अंक छ । शुक्रबार स्पष्ट ३ अंक जोड्ने टोली सिधै फाइनल पुग्नेछ भने खेल पाँचौं सेटसम्म लम्बिएमा सेट गणनाका आधारमा फाइनल टोली तय गरिनेछ ।

बिहीबार नै महिलातर्फ तेस्रो स्थानको खेलमा थाइल्यान्ड क्विन्सले कडा प्रतिस्पर्धाबीच एपीएफलाई ३–२ को सेटमा पराजित गर्‍यो । पहिलो सेट २३–२५ ले गुमाएको थाइल्यान्डले दोस्रो सेट २५–११ र तेस्रो सेट २५–९ ले आफ्नो पक्षमा पारेको थियो । चौथो सेट पुनः २३–२५ ले एपीएफलाई सुम्पिएपछि पाँचौं सेटमा थाइल्यान्डले १५–११ को अग्रतासहित जित्यो । तेस्रो भएसँगै थाइल्यान्ड क्विन्सले २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

शुक्रबार दुई हुनेछ । महिलातर्फ उपाधिका लागि न्यु डायमन्ड स्पोटर््स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघबीच समूह चरणको अन्तिम खेल हुनेछ ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully