छैटौं टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र पर्वत फाइनलमा

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार भएको समूह चरणको अन्तिम खेल रोमाञ्चक ढंगले पाँचौं सेटसम्म पुगेपछि गण्डकी र पर्वत दुवै फाइनलमा प्रवेश गरेका हुन् ।

माघ १६, २०८२

दीपक परियार

6th Tiger Cup Volleyball: Gandaki and Parbat advance to men's final

What you should know

पोखरा — एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ प्रतिस्पर्धा गर्ने भएका छन् ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार भएको समूह चरणको अन्तिम खेल रोमाञ्चक ढंगले पाँचौं सेटसम्म पुगेपछि गण्डकी र पर्वत दुवै फाइनलमा प्रवेश गरेका हुन् ।

पहिलो सेट २५–२१ ले जितेको गण्डकीले दोस्रो सेट २२–२५ ले गुमायो । तेस्रो सेटमा २५–२२ ले फेरि अग्रता लिएको गण्डकीले चौंथो सेट २३–२५ ले पर्वतलाई दिनुपरेपछि खेल निर्णायक पाँचौं सेटमा पुग्यो । पाँचौं सेटमा १५–१३ को संघर्षपूर्ण जित निकाल्दै गण्डकीले २ अंक हात पार्‍यो भने पर्वतले १ अंक पायो ।

गण्डकी ५ खेलबाट ११ अंक र पर्वत १० अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । समान १० अंक रहेको नेपाल पुलिस क्लब सेटका आधारमा पर्वतभन्दा पछि परेर अंक तालिकाको तेस्रो स्थानमा रह्यो । अंक तालिकामा त्रिभुवन आर्मी क्लब चौंथो, सशस्त्र प्रहरी बल एपीएफ पाँचौं र माल्दिभ्स भलिबल एसोसिएसन छैटौं स्थानमा रहेको छन् ।

गण्डकी र पर्वतबीच फाइनल खेल शनिबार दिउँसो २ बजे सुरु हुनेछ । त्यसअघि बिहान ११ बजे तेस्रो स्थानका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । प्रतियोगितामा विजेताले ६ लाख ६६ हजार ६ सय ६६, उपविजेताले ३ लाख ६६ हजार ६ सय ६६ र तेस्रो स्थान हासिल गर्ने टोलीले २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ पाउनेछन् ।

यसअघि शुक्रबार भएको महिलातर्फको फाइनलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो । न्यु डायमन्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको थियो ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully