प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा साल्हेश युवा क्लब सिराहाले दमक फुटबल एकेडेमी झापाको सामना गर्नेछ ।
उदयपुर — नारदमुनि स्मृति गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै आयोजक बसाहा क्लब बाहिरिएको छ ।बिहीबारबाट चौदण्डीगढी नगरपालिका–४ बसाहाको नारद आदर्श रङ्गशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा आयोजकलाई योङ ब्रदर क्लब इटहरी सुनसरीले १–० गोलमा पराजित गरेको हो ।
द योङ ब्रदर क्लबका खेलाडी फोफोनाले खेलको सत्ताइसौं मिनेटमा गोल गरेका थिए । खेल अवधिभर कुनै पनि टिमले थप गोल नगरे पनि फोफोनाकै गोल निर्णायक बन्यो । जितसँगै द योङ ब्रदर क्लब प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
खेलमा म्यान अफ दी म्याचको उपाधि उनै फोफोनाले पाए । प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा साल्हेश युवा क्लब सिराहाले दमक फुटबल एकेडेमी झापाको सामना गर्नेछ ।
प्रतियोगिताको बिहीबार चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा, बेलका नगरपालिकाका मेयर अशोक कार्की र कटारी नगरपालिकाका मेयर राजेन्द्रचन्द्र श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका थिए । प्रजातान्त्रिक योद्धा स्वर्गीय नारदमणि थुलुङको स्मृतिमा बसाह क्लबले प्रत्येक वर्ष गोल्डकप प्रतियोगिता गर्दै आएको छ । यो ११ औं संस्करण हो ।
