भुवनको उपाधि सम्भावना बलियो

बर्दिबासस्थित पार ७२ को मिथिला नगरी आर्मी गल्फ क्लबमा बुधबार भुवनले बोगीरहित २ अन्डर ७० स्कोर गर्दै ३६ होल सकिँदा समग्रमा ७ अन्डर १३७ को स्कोर बनाएका छन् ।

माघ १५, २०८२

कान्तिपुर संवाददाता

Bhuvan's title chances are strong

What you should know

महोत्तरी — भुवन नगरकोटीले सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपमा दोस्रो दिन सकिँदा उपाधि जित्ने सम्भावना बलियो बनाएका छन् ।

उनले टंकबहादुर कार्की र भुवनकुमार रोक्कालाई ६ स्ट्रोकले पछि पारेका छन् । टंक र भुवनले समग्रमा १ अन्डर १४३ स्कोर बनाए । दोस्रो राउन्डमा टंकले १ अन्डर ७१ र भुवन रोक्काले २ ओभर ७४ स्कोर गरेका थिए ।

सुमन परियार २ अन्डर ७० सहित इभन पार १४४ स्कोर बनाएर चौथो स्थानमा छन् । कुल १ ओभर १४५ सहित नेपालका नम्बर एक प्रो नीरज तामाङ (७२), सुमन राई (७४) र धनबहादुर थापा (७४) संयुक्त पाँचौं स्थानमा छन् । सञ्जय लामा १ अन्डर ७१ खेल्दै कुल २ ओभर १४६ सहित आठौं स्थानमा पुगेका छन् ।

जयराम श्रेष्ठ र दिनेश प्रजापतिले ३ ओभर १४७ सहित संयुक्त नवौं स्थान ओगटे । जयरामले दिनकै उत्कृष्ट ३ अन्डर ६९ कार्ड बनाए भने दिनेशले २ ओभर ७४ खेले । 

८ ओभर १५२ को स्कोरमा कट लागू भउको छ । त्यसमा १८ प्रो र दुई एमेच्योर अन्तिम राउन्डमा पुगेका छन् । प्रोतर्फ कुमार कामी, रवि खड्का, रमेश अधिकारी, प्रदीपकुमार लामा, सूर्यप्रसाद शर्मा, बलभद्र राई, सविन सापकोटा र दीपक मगरले कट बनाएका छन् ।

एमेच्योरतर्फ प्रकृत तामाङ ३ ओभर १४७ स्कोरसहित शीर्षस्थानमा छन् । उनी समग्रमा संयुक्त नवौं स्थानमा छन् । प्रकृत ५ ओभर १४९ स्कोरसहित दोस्रो स्थानमा रहेका सुन्दर राईभन्दा दुई स्ट्रोकको अगाडि छन् । सुन्दरले दोस्रो राउन्डमा २ ओभर ७४ खेलेका थिए ।

शीर्षस्थानका भुवनले चौथो र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्टनाइन २ अन्डर ३४ मा सके । त्यसपछि ब्याकनाइनका सबै नौ होलमा पार सेभ गर्दै इभन पार ३६ खेले । टंक फ्रन्टनाइन १ अन्डर ३५ र ब्याकनाइन इभन पार ३६ खेलेर संयुक्त दोस्रो स्थानमा उक्लिए । भुवन रोक्काले फ्रन्टनाइन १ ओभर ३७ र ब्याकनाइन पनि १ ओभर ३७ नै खेलेका थिए । 

सूर्य नेपाल प्रालिको प्रायोजनमा एनपीजीएद्वारा आयोजित प्रतियोगिताका विजेताले १ लाख ७० हजार, उपविजेताले १ लाख २५ हजार र तेस्रो हुने गल्फरले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

कान्तिपुर

Link copied successfully