प्रतियोगितामा ४ डबल्स र १ सिंगल्समा ३ सय १४ खेलाडी प्रतिस्पर्धी छन् ।
What you should know
काठमाडौँ — नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता बुधबार सुरु भएको छ ।
नखिपोटस्थित आयोजककै कभर्डहलमा भइरहेको प्रतियोगिताको पहिलो दिन यू–१७ ब्वाइज सिंगल्समा लभ ब्याडमिन्टन एकेडेमीका अस्मित राणाले देवीनगरका सुभाङ आचार्यलाई २१–७, २१–१० ले र आर्मीका प्रतीक विष्टले धन्यन्तरीका सुशान्त प्रजापतिलाई १९–२१, २१–१९, २१–१६ ले पराजित गरे ।
सोही स्पर्धाको अन्य खेलमा कीर्तिपुर ब्याडमिन्टन क्लबका समन्तभद्र वज्राचार्य, भिन्छेबहाल ब्याडमिन्टन क्लबका रोनिश वज्राचार्य, बालकुमारीका रिजेन घिमिरे, आर्मीका दीप थिङ, पुलिसका ऋषभ राई, बालकुमारीका सक्षम शाक्य, देवीनगरका उज्ज्वल चौधरी, लभका पप्पु पाल र डियरवाकका सौर्य विष्ट विजयी भए ।
पुरुष डबल्स क्याटगोरी ‘बी’ मा आयोजक नखिपोटका कैलाश गुरुङ र लोकेन्द्र थापा, सूर्यदर्शनका कृष्ण सलामी र रमेश उपरकोटी, फ्रिडम फिटनेसका कमल लामा र सुदर्शन थापा तथा ओचु ब्याडमिन्टन क्लबका भीम राई र प्रदीप राईको जोडी विजयी भएको छ ।
भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा नखिपोटका चन्द्र लिम्बू र तुलसी पुन, एनपीएस भक्तपुरका असिम खड्का र सुरेन्द्र लामा, देवीनगरका कुशल केसी र खेम सुब्बा, वाईसीबीसीका जीवन गुरुङ र मधु गुरुङ, पीएफसीका अरुण सन्जेल र श्याम थापा, नखिपोटका मेदनाराज पाण्डे र बलबहादुर राई, एपीएफका कुशु बुढाथोकी र चेतसिंह थापा, सुनाकोठी ब्याडमिन्टन क्लबका जे महर्जन र के गोपाल महर्जन, नवजीवनका नारायण खड्का र गोरे राना मगर, मिरमिरे ब्याडमिन्टन क्लबका चिरीबाबु महर्जन र विजेन श्रेष्ठ तथा देवीनगरका जगुराम चौधरी र नारायण थापाको जोडी दोस्रो चरणमा पुगेका छन् ।
प्रतियोगितामा ४ डबल्स र १ सिंगल्समा ३ सय १४ खेलाडी प्रतिस्पर्धी छन् । सबै स्पर्धाका पदक विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन् । कुल पुरस्कार राशि ५ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
