फेरिल्यान्डका तीन टोली सेमिफाइनलमा

आयोजक फेरिल्यान्ड स्कुलका तीनै टोली बुधबार सिमोन स्मृति दोस्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

माघ १४, २०८२

कान्तिपुर संवाददाता

Three teams from Fairyland advance to the semifinals

काठमाडौँ — आयोजक फेरिल्यान्ड स्कुलका तीनै टोली बुधबार सिमोन स्मृति दोस्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । जुनियर गर्ल्समा २ र जुनियर ब्वाइजमा १ टिम सेमिफाइनल पुगे ।

जुनियर गर्ल्समा फेरिल्यान्ड ‘ए’ ले जेबी स्कुललाई २४–१८ स्कोरले पराजित गर्‍यो । विजेताकी सन्दीपा राईले ७ स्कोर गरिन् । फेरिल्यान्ड ‘बी’ ले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १९–१५ ले हरायो । विजेताकी सायना माझीले ६ स्कोर जोडिन् ।

जुनियर गर्ल्समै न्युटनले हिमशिलालाई २०–१६ र भ्याली पब्लिकले क्यानभास वसन्त ऋतुलाई २१–१५ ले हरायो । न्युटनकी खान्डु शेर्पाले ६ र भ्यालीकी सोनी तामाङले ९ स्कोर बटुले । सेमिफाइनलमा न्युटनको भेट फेरिल्यान्ड ‘ए’ सँग हुनेछ भने फेरिल्यान्ड ‘बी’ को भेट भ्याली पब्लिकसँग हुनेछ । 

जुनियर ब्वाइजमा फेरिल्यान्डले बीएनएलाई १९–१५ ले हराउँदा राहुल मग्रातीले ६ स्कोर गरे । अन्य क्वाटरफाइनलमा ज्ञानभूमिले भक्तिलाई २७–२०, जेबी स्कुलले गोल्डेनपिकलाई १८–१६ र एन्जल्स हार्टले हिमशिलालाई २६–२२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । ज्ञानभूमिका युनिश पण्डितले ७, जेबीका दर्शनले ८ र एन्जल्स हार्टका सौरव श्रेष्ठले ६ स्कोर जोडे । क्वाटरफाइनल फेरिल्यान्ड र जेबी तथा ज्ञानभूमि र एन्जल्स हार्टबीच हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully