प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरको कुम्मायकलाई

कुम्मायक कुसायकले ट्रफी, मेडल र प्रमाणपत्र सहित ३ लाख २ हजार ८२ रुपैंया प्राप्त गरेको छ भने उपविजेता साथीभाइले १ लाख ५२ हजार ८२ मा चित्त बुझाउनु परेको छ ।

माघ १४, २०८२

आनन्द गौतम

Kummayak of Panchthar wins first Lingtep Gold Cup title

ताप्लेजुङ — प्रथम लिङ्गतेप गोल्डकपको उपाधि पाँचथरको कुम्मायक गाउँपालिका स्थित कुसायक युथ क्लबले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा साथीभाइ युवा क्लब फुङ्लिङ ताप्लेजुङलाई ४ –२ गोल अन्तरले पराजित गर्दै कुम्मायक कुसायकले उपाधि हात पारेको हो ।

 कुम्मायक कुसायकले ट्रफी, मेडल र प्रमाणपत्र सहित ३ लाख २ हजार ८२ रुपैंया प्राप्त गरेको छ भने उपविजेता साथीभाइले  १ लाख ५२ हजार ८२ मा चित्त बुझाउनु परेको छ । फाइनल खेलमा जमिन लक्समको गोल मार्फत साथीभाइले सुरुवाती अग्रता बनाएको थियो ।

लक्समले खेलको १० औं  र १८ औँ  मिनेटमा गोल गरेर कुम्मायक कुसायकलाई दबाबमा राखेका थिए । तर दोस्रो हाफ देखि खेलमा फर्किएको कुम्मायक कुसायकले  नाटकीय जित निकाल्यो । ४९ औ मिनेटमा लोकेन्द्र थापाले सान्त्वना गोल फर्काए भने  सेमसेङ लावतीले खेलको ५८ मिनेटमा दोश्रो गोल गर्दै खेल बराबरीमा ल्याए ।

६० औँ मिनेटमा सुशील लिम्बुले तेश्रो गोल गरेपछि अग्रता बढाएको कुम्मायकलेको तर्फवाट ८२ औँ मिनेटमा  सुशील लावतीले  चौथो गोल गर्दै साथीभाइसँगको खेल ४– २ ले टुङ्ग्याइदिए । श्री पञ्चमी ( बसन्त पञ्चमी ) मेलाका अवसरमा प्रगतिशील युथ क्लब लिङ्तेपले  प्रतियोगिताको  आयोजना गरेको हो।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully