एमेच्योर प्रकृत तामाङ, प्रो रमेश अधिकारी, नीरज तामाङ र दिनेश प्रजापतिले १ ओभर ७३ सहित संयुक्त छैटौं स्थान बाँडे ।
What you should know
होत्तरी — भुवन नगरकोटीले सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको पहिलो दिन मंगलबार अग्रता बनाएका छन् । बर्दिबासस्थित पार–७२ मिथिला नगरी आर्मी गल्फ क्लबमा पहिलो राउन्डमा भुवनले ५ अन्डर ६७ को उत्कृष्ट कार्ड बनाएर दुई स्ट्रोकको अग्रता बनाए ।
भुवनकुमार रोक्का ३ अन्डर ६९ सहित दोस्रो स्थानमा छन् । सुमन राई र धनबहादुर थापा १ अन्डर ७१ सहित संयुक्त तेस्रो स्थानमा रहे । टंकबहादुर कार्कीले इभन–पार ७२ खेल्दै पाँचौं स्थानमा दिनको खेल टुंग्याए । एमेच्योर प्रकृत तामाङ, प्रो रमेश अधिकारी, नीरज तामाङ र दिनेश प्रजापतिले १ ओभर ७३ सहित संयुक्त छैटौं स्थान बाँडे । शिवराम पौडेल, रवि खड्का, सुमन परियार र प्रदीपकुमार लामा २ ओभर ७४ सहित दसौं स्थानमा छन् ।
शीर्षस्थानमा रहेका पूर्व नेपाल नम्बर एक प्रो भुवनले फ्रन्टनाइन ३ अन्डर ३३ र ब्याकनाइन २ अन्डर ३४ खेल्दै समग्रमा ५ अन्डर ६७ को स्कोर निकाले । उनले दोस्रो, चौथो, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा शट खेर फाले । यसपछि बोगीरहित ब्याकनाइन खेल्ने क्रममा उनले ११ र १६ औं होलमा बर्डीको सफलता पाए ।
भुवन रोक्काले फ्रन्टनाइन इभन–पार ३६ र ब्याकनाइन ३ अन्डर ३३ खेले । उनले पहिलो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे पनि दोस्रो, पाँचौं र नवौं होलमा बोगी खेपे । ब्याकनाइनमा उनले १३, १४ र १५ औं होलमा लगातार तीन बर्डी प्रहार गरे । सुमन राईले फ्रन्टनाइन २ ओभर ३८ खेले पनि ब्याकनाइनमा ३ अन्डर ३३ को उत्कृष्ट पुनरागमन गरे । उनले पहिलो, पाँचौं र छैटौं होलमा बोगी खेपे । आठौं होलमा एक शट बचाए । बोगीरहित ब्याकनाइन खेलेका उनले ११ औं होलमा बर्डी प्रहार गर्दा १८ औं होलमा इगलको सफलता पाए ।
धनबहादुर थापाले तेस्रो र नवौं होलको बोगीविरुद्ध चौथो होलको बर्डीले फ्रन्टनाइन १ ओभर ३७ खेले । यसपछि १० र १७ औं होलमा शट बचाए । ब्याकनाइन २अन्डर ३४ मा सके ।
एमेच्योरतर्फ युवा गल्फर प्रकृत तामाङले १ ओभर ७३ खेल्दै सुन्दर राईलाई दुई स्ट्रोकले पछि पारे । सुन्दरले ३ ओभर ७५ खेले । भरत तामाङ ९ ओभर ८१ सहित तेस्रो स्थानमा छन् ।
नेपाल पीजीएद्वारा सूर्य नेपाल प्रालिको प्रायोजनमा भएको ५४ होलको प्रतियोगितामा ३० प्रो र ६ एमेच्योर गरी ३६ खेलाडी प्रतिस्पर्धी छन् । दोस्रो राउन्डपछि कट लागू हुनेछ । शीर्ष १८ प्रो तथा एमेच्योर गल्फरले अन्तिम चरणमा स्थान बनाउने छन् ।
यसअघि मधेश प्रदेशका खेलकुद तथा सामाजिक विकासमन्त्री वसन्तकुमार कुशवाहाले होल नम्बर ९ मा पट गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।
