फुटबलकी रेखा एक्सेल्सियरबाट सम्मानित

बागमती प्रदेशकी युवा तथा खेलकुदमन्त्री उर्मिला नेपाल, एक्सेल्सियरकी अध्यक्ष शीतल राणा र एक्सेल्सियरका प्रबन्ध निर्देशक राम बस्नेतले रेखालाई सम्मान पत्र, मायाको चिनो र नगद प्रदान गरी सम्मान गरे ।

माघ १४, २०८२

कान्तिपुर संवाददाता

Footballer Rekha honored by Excelsior

What you should know

काठमाडौँ — द एक्सेल्सियर स्कुलले राष्ट्रिय महिला फुटबल टोलीकी रेखा पौडेललाई बुधबार नगदसहित सम्मान गरेको छ । बुधबार सुरु १२ औं एक्सेल्सियर कपको उद्घाटनका अवसरमा रेखालाई ४० हजारसहित सम्मान गरिएको हो । 

बागमती प्रदेशकी युवा तथा खेलकुदमन्त्री उर्मिला नेपाल, एक्सेल्सियरकी अध्यक्ष शीतल राणा र एक्सेल्सियरका प्रबन्ध निर्देशक राम बस्नेतले रेखालाई सम्मान पत्र, मायाको चिनो र नगद प्रदान गरी सम्मान गरे ।

‘नेपाली महिला फुटबल खेलको विकास, सशक्तीकरण र राष्ट्रिय पहिचान स्थापित गर्न ८ वर्षयता नेपाली राष्ट्रिय महिला फुटबल टोलीको अग्रपंक्ति खेलाडीका रूपमा निरन्तर मिहिनेत र अतुलनीय योगदानसहित मैदानमा देखाउनुभएको तपाईंको साहस, नेतृत्व र खेलभावना खेलकुद क्षेत्रमा मात्र नभई सबैका लागि प्रेरणाको स्रोत बनेको छ,’ सम्मानपत्रमा भनिएको छ ।

एक्सेल्सियर र रिब्स विजयी

आयोजक एक्सेल्सियर र रिब्सले १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर गर्ल्समा विजयी सुरुआत गरेका छन् । एक्सेल्सियरले ह्वाइटफिल्डलाई १४–७ स्कोरले पराजित गर्दा अकिना घिमिरेले १२ स्कोर गरिन् । सुप्रिया मल्लको १२ स्कोरमा रिब्सले द चाँदबाग स्कुललाई २२–१२ ले हरायो ।

ब्वाइज फुटसलको यू–११ मा बोधिवृक्षले बोधिसत्वलाई ५–०, लाइफ स्कुलले बोधिवृक्षलाई ११–० र एक्सेल्सियर (ब्लु) ले बालदीक्षा सदनलाई १–० गोलले पराजित गरे । यू–१३ मा एक्सेल्सियर (यल्लो) ले बालदीक्षालाई ४–० र रिब्सलाई ३–१ तथा रिब्सले बालदीक्षालाई ४–२ गोलले हराए ।

स्वयम्भूस्थित आयोजककै हातामा भइरहेको प्रतियोगिताको यू–१६ मा बोधिसत्वले संस्कृतिलाई ३–० र एक्सेल्सियर (यल्लो) ले बालदीक्षा सदनलाई १–० ले हराए ।

माघ २३ गतेसम्म चल्ने प्रतियोगितामा बास्केटबलको ३ विधामा २६ र फुटसलको ४ विधामा ५६ टिम सहभागी छन् ।

कान्तिपुर

Link copied successfully